काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अर्को मुलुकको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता पुनः दिन नसकिने स्पष्ट पारेका छन्।
शनिवार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ शीर्षक पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले नेपाल नागरिकता कानुनको मर्मअनुसार दोहोरो नागरिकता स्वीकार्य नहुने बताए।
“अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ,” देउवाले भने, “अरू सुविधाहरू दिन सकिन्छ, तर नागरिकता दिन गाह्रो हुन्छ। नेपाल फर्किन चाहनेलाई भने हामी स्वागत गर्न तयार छौँ।”
उनले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई दिइनेजस्तै विशेष सुविधा दिने व्यवस्था गर्न सकिने जनाउँदै नेपालजस्तो सानो देशमा दोहोरो नागरिकता स्विकार्दा जटिलता आउन सक्ने बताए।
गोर्खा सैनिकको माग स्वाभाविक, निष्कर्ष संसद्ले निकाल्छ
ब्रिटिस गोर्खा सैनिकले उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरता सम्बन्धी मागबारे पनि देउवाले आफ्नो धारणा राखे। “ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग गर्नु भएको छ, जुन स्वाभाविक हो,” उनले भने, “यस विषयमा राजनीतिक दलहरूबिच छलफल भइरहेको छ र छिट्टै संसद्बाट निष्कर्ष निस्किनेछ।”
देउवाले गोर्खा सैनिकहरूको योगदानलाई स्मरण गर्दै उनीहरू नेपाल र बेलायतबिचको सम्बन्ध विस्तारको सशक्त आधार रहेको उल्लेख गरे। “गोर्खा सैनिकले नेपाललाई विश्वमा चिनाउने माध्यम बनेका छन्। तिनको इतिहास गर्विलो छ,” उनले भने।
उनले नेपाली पक्षबाट ब्रिटिस सेनामा कार्यरत गोर्खा सैनिकहरूलाई बेलायती सैनिक सरह सेवा सुविधा दिनुपर्ने माग भइरहेका विषयमा आफू स्पष्ट रहेको बताए।
पूर्वप्रधानमन्त्री देउवाले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रहितलाई प्राथमिकता दिँदै स्पष्ट नीति र बहस आवश्यक रहेको धारणा राखे। उनले नागरिकता सम्बन्धी विषयमा संसद् र राजनीतिक दलहरूबिच सहमति र समन्वयमार्फत दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिए।