काठमाडौं । इरान र इजरायलबिच जारी युद्धको तनावपूर्ण परिस्थितिका कारण परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूलाई मध्यपूर्वतर्फको यात्रा नगर्न आग्रह गरेको छ। बुधवार एक ट्राभल एडभाइजरी जारी गर्दै मन्त्रालयले नेपालीहरूलाई अत्यावश्यक नपरेसम्म इरान र इजरायललगायत ती क्षेत्रका देशहरूमा यात्रा स्थगित गर्न आग्रह गरेको हो।
परराष्ट्र मन्त्रालयले भनेको छ, “इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य कुनै प्रायोजनका लागि जाने तयारी गरिरहनु भएका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्नू, स्थगित गर्नू,”
मन्त्रालयका अनुसार सरकार हाल इरान–इजरायलबिचको बढ्दो द्वन्द्वलाई नजिकबाट अनुगमन गरिरहेको छ। हालसम्म त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी मन्त्रालयले दिएको छ। तथापि, द्वन्द्वका कारण हवाईमार्ग अवरुद्ध हुन सक्ने सम्भावना रहेकोले नेपाली नागरिकहरूले तेस्रो मुलुक हुँदै नेपाल फर्कनुपर्ने अवस्था आउन सक्ने मन्त्रालयको भनाइ छ।
त्यस्तो अवस्थामा ट्रान्जिट भिसाको आवश्यकता परे मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताएको छ। साथै, इरान वा इजरायलमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै अत्यावश्यक बाहेक घर वा सेल्टरबाहिर ननिस्कन अनुरोध गरिएको छ।
साथै, इजरायली सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा तथा आवागमनसम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्न मन्त्रालयले अपिल गरेको छ। परराष्ट्र मन्त्रालयले सबै नेपालीलाई हालको संवेदनशील परिस्थितिमा धैर्य र सतर्कता अपनाउन आह्वान गरेको छ।