सुनसरी, धरान । धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ। झडप उपमहानगरपालिका कार्यालय बाहिर मंगलबार दिउँसो भएको हो।
दुई पक्षबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को बाक्लो उपस्थिति खटाइएको छ। स्रोतका अनुसार, सोमबार मेयर साम्पाङले उपमेयर बेघालाई कार्यकक्षमा बोलाएका थिए।
सो अवसरमा साम्पाङ पक्षका केही समर्थकले बेघामाथि हातपात गर्न खोजेका थिए। घटनापछि आक्रोशित बेघा पक्षधरहरू मंगलबार उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोधमा उत्रिएका थिए।
विवादको मूल कारण श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेश गरिएपछि भएको भुक्तानी रोकिएको विषय रहेको बुझिएको छ। यसै विषयमा साम्पाङ पक्षले सामाजिक सञ्जालमार्फत ‘हार्दिक श्रद्धाञ्जली’ लेख्दै व्यङ्ग्य गरेका थिए, जसपछि माओवादी निकट कार्यकर्ता आक्रोशित बनेका हुन्।
हाल उपमहानगर क्षेत्रको अवस्था तनाबपूर्ण भए पनि सुरक्षाकर्मीको सक्रियतामा स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले दुबै पक्षलाई शान्त रहन र कानुनी प्रक्रिया अनुरूप समस्या समाधान गर्न आग्रह गरेको छ।