काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा नजिकै भएको सवारी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको माइक्रोबस आज अपराह्न अनियन्त्रित भई करिब ८० मिटर तल खसेको हो।
दुर्घटना चन्द्रागिरि–२ स्थित घुमाउने पसल अगाडिको मोडमा भएको बताइएको छ। सवारीमा चालक र सहचालकसहित २० जना यात्रु सवार थिए। घाइतेमध्ये चार जना बालबालिका, पाँच महिला र ११ पुरुष रहेका छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार दुई जनाको अवस्था गम्भीर छ।
दुर्घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गण, काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा उद्दार टोली खटिएको थियो। टोलीले सबै घाइतेलाई उद्दार गरी बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि पठाएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले दुर्घटनापछि तत्काल उद्धार कार्य थालिएको र घाइतेको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले सक्दो प्रयास गरिरहेको जानकारी दिएका छन्।
दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहे पनि तीव्र गतिमा रहेको माइक्रोबस मोडमा नियन्त्रण गुमाई दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। ट्राफिक प्रहरी र सम्बन्धित निकायले घटनाको विस्तृत अनुसन्धान थालेको छ।