काठमाडौं । मधेश प्रदेशसभाका सांसद सरोजकुमार सिंह कुश्वाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ। सिंहलाई अख्तियारको विशेष टोलीले काठमाडौँको अनामनगरबाट पक्राउ गरेको हो।
उनीमाथि सांसद विकास कोषमार्फत आएका रकममध्ये २५ देखि ३० प्रतिशतसम्मको कमिसन लिएर व्यक्तिगत हितमा प्रयोग गरेको गम्भीर आरोप लागेको छ। स्रोतका अनुसार उनले रकम सिधै आफ्नो श्रीमती र स्वकीय सचिव विनोदकुमार कायस्थको बैंक खातामा जम्मा गराएका थिए।
आयोजनाको ‘बिक्री’ र मनोमानी उपभोक्ता समिति गठन
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित कुश्वाहाले विभिन्न विकास आयोजनाहरूमा आफू अनुकूलका उपभोक्ता समिति गठन गरी योजना ‘बिक्री’ गर्ने कार्यमा संलग्न रहेको अख्तियारले जनाएको छ। यसरी समिति गठनपश्चात् आउने रकममा प्रतिशत छुट्याएर सिधै निकट व्यक्तिका खातामा पठाउने गरिएको प्रमाण भेटिएको बताइएको छ।
अख्तियारले गत जेठ १३ गते सिंहको घरमा छापा हानेर खोजतलास गर्दा उनको स्वकीय सचिव विनोदकुमार कायस्थलाई पनि पक्राउ गरेको थियो। त्यस क्रममा सिंहको मोबाइल फोन तथा केही कागजातहरू समेत जफत गरिएको थियो।
पक्राउ परेका सांसद सिंहलाई अहिले अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। आयोगले वित्तीय कारोबार, बैंक स्टेटमेन्ट, योजना वितरण प्रक्रिया लगायतका विवरणको गहिरो अनुसन्धान गरिरहेको बताएको छ।
यस घटनाले प्रदेशस्तरीय नेतृत्वमा भ्रष्टाचारको गम्भीर प्रश्न उठाएको छ। प्रदेश र संघीय सरकारको विकास कोषमा यस्तो दुरुपयोग भइरहेको प्रमाणित भएमा अन्य सांसदहरू पनि अनुसन्धानको दायरामा आउन सक्ने अनुमान गरिएको छ।
स्थानीय नागरिक समाज, विरोधी दलका नेताहरू र भ्रष्टाचार विरोधी अभियन्ताहरूले सांसदजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले यस्तो कार्य गर्नु निन्दनीय भएको भन्दै कडा कारबाहीको माग गरेका छन्। यस घटनाले विकास योजनामाथिको विश्वासमा गहिरो चोट पुर्याएको उनीहरूको भनाइ छ।