अहमदाबाद विमान दुर्घटनामा २०४ जनाको ज्यान गयो : “११-ए” सिटमा बसेका विश्वास कुमार जीवितै उद्धार


अहमदाबाद, भारत । भारतको गुजरात राज्यस्थित अहमदाबादमा भएको एअर इण्डिया (AI-171) विमान दुर्घटनामा कम्तीमा २०४ जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना यात्रु भने चमत्कारिक रूपमा जीवितै उद्धार भएका छन्।

अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकका अनुसार, सिट ११A मा रहेका ४० वर्षीय विश्वास कुमार रमेश दुर्घटनामा चमत्कारिक रूपमा बाँच्न सफल भएका छन्। लण्डनका लागि उडेको एअर इण्डियाको विमान दुर्घटनापछि उनी विमानबाट उछिट्टिएर टाढा परे र घाइते अवस्थामा जीवितै भेटिएका थिए।

विश्वासले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भने, “जब म दुर्घटनाबाट बाहिर निस्किएँ, मेरो चारैतिर शवहरू छरिएका थिए। म डराएँ र तत्काल उभिएर जति सक्यो त्यति टाढा भागेँ।” उनको आँखामा चोट लागेको छ र हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

विमानमा २४२ यात्रु सवार, ६१ विदेशी नागरिक

दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानडाली नागरिक थिए। विमान स्थानीय समय अनुसार बिहान ९:४७ बजे अहमदाबादको बाहिरी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

विमान टुक्राटुक्रा भएको थियो र घटनास्थलमा ठुलो संख्यामा शवहरू विखण्डित अवस्थामा भेटिएका थिए। अझै पनि उद्धारकार्य जारी रहेको बताइएको छ।

टाटा समूहको एक करोड सहयोग घोषणा

घटनाप्रति दुःख व्यक्त गर्दै एअर इण्डियाकी मूल कम्पनी टाटा समूहले मृतक यात्रुहरूको परिवारलाई प्रति परिवार एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ। साथै, घाइते सबै यात्रुहरूको सम्पूर्ण उपचार खर्च समेत टाटा समूहले बेहोर्ने बताएको छ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले विज्ञप्ति जारी गर्दै भने, “यो घटना केवल एयर इण्डिया मात्र होइन, सम्पूर्ण भारतीय उड्डयन क्षेत्रको लागि गहिरो पीडा हो। हामी पीडित परिवारसँग ऐक्यबद्ध छौँ र सकेको सहयोग गर्न प्रतिबद्ध छौँ।” एअर इण्डिया कम्पनी केही वर्षअघि घाटामा गएको अवस्थामा टाटा समूहले खरिद गरेको थियो।

दुर्घटनाको कारणबारे औपचारिक रूपमा केही नखुलाइएको भए पनि प्रारम्भिक अनुमान अनुसार प्राविधिक गडबडी वा मौसमको असर हुन सक्ने बताइएको छ। भारतको नागर विमान महानिर्देशनालय (DGCA) ले घटनाको छानबिनका लागि समिति गठन गरेको जनाएको छ।

यस हृदयविदारक दुर्घटनाले भारतीय उड्डयन इतिहासमा एक गम्भीर सङ्कट थपेको छ। सरकारले पीडित परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्