काठमाडौं । हिल्टन होटेल खरिदसम्बन्धी स्टाटस लेखेकै आधारमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका संयोजक एवं अधिवक्ता सुजित केसीविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दायर गरिएको छ।
नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध लेखिएको स्टाटसले “विद्युतीय अपराध ऐन २०६३” को दफा ४७ उल्लंघन गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो। अभियोग पत्रमा जाहेरवालाको नाम खुलाइएको छैन तर ‘साइबर ब्युरो ५५’ नामक प्रयोगकर्ताले घृणा फैलाउने स्टाटसमार्फत चरित्र हत्या गरिएको आरोप लगाइएको छ।
स्टाटसमा केसीले “भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटेल खरिद गरेका छन्” भन्ने उल्लेख गरेका थिए।
यो स्टाटस लेखेपछि केही समयमै उनले हटाएका थिए। प्रहरीलाई दिएको बयानमा केसीले, देशमा मौलाउँदै गएको भ्रष्टाचार, आर्थिक सङ्कट र युवा पलायनप्रति नागरिक हैसियतले आक्रोश पोख्दै स्टाटस लेखेको तर पछि समाचार सत्य नभएको महसुस गरी डिलिट गरेको बताएका छन्।
प्रहरीले उनलाई केही दिन हिरासतमा राखेपछि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै छाड्ने आदेश दिएको थियो। यद्यपि सरकारी वकिल कार्यालयले भने उनको स्टाटस, अम्मरबहादुर रावल नामक व्यक्तिको बयान र केसीको मोबाइलसम्बन्धी तथ्यका आधारमा मुद्दा अगाडि बढाइएको जनाएको छ।
उक्त घटनाको सन्दर्भमा पत्रकार दिलभूषण पाठकविरुद्ध पनि साइबर ब्युरोमा उजुरी परेको र उनको खोजी भइरहेको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।
सरकारको यो कदमप्रति राप्रपाले कडा आपत्ति जनाउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि कुठाराघात भएको आरोप लगाएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले मामुली स्टाटस लेख्ने व्यक्तिलाई मुद्दा हालेको र पत्रकारलाई पक्राउ गर्न खोजिएको घटनाले सरकारको सर्वसत्तावादी रवैया उजागर भएको बताए।
“यो लोकतन्त्रको घोर अपमान हो, हामी यसको घोर निन्दा र भर्त्सना गर्छौँ,” श्रेष्ठले भने।