काठमाडौं । भारतको गुजरात राज्यस्थित अहमदाबादमा शुक्रबार बिहान भएको एयर इण्डियाको विमान दुर्घटनामा कम्तीमा १३३ जनाको ज्यान गएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै न्युज १८ लगायतका भारतीय सञ्चारमाध्यमहरूले दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्।
दुर्घटनामा परेको एआई १७१ फ्लाइट नम्बरको जहाज एयर इण्डियाको अन्तर्राष्ट्रिय उडान थियो, जुन अहमदाबादबाट लण्डनको लागि उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो। जहाज मेघानीनगरस्थित एक घना बस्तीमा खसेको थियो, जहाँ डाक्टर बस्ने एक होस्टेलमा ठोक्किएर ठूलो क्षति पुर्याएको स्थानीय प्रशासनले जानकारी दिएको छ।
विमानमा क्रु सदस्यसहित २४२ जना सवार थिए। तीमध्ये १६९ जना भारतीय नागरिक र ६१ जना विदेशी नागरिक रहेका थिए। विदेशी यात्रुहरूमा ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडाली नागरिक रहेका थिए। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा १३३ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइतेहरूको अवस्था गम्भीर रहेको छ।
विशेष कुरा के छ भने, विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी बेलायतमा अध्ययनरत आफ्नी छोरीलाई भेट्न गइरहेका थिए। हालसम्म उनको अवस्थाबारे यकिन जानकारी प्राप्त भएको छैन।
प्रत्यक्षदर्शीहरूका अनुसार जहाज उडेको दुई मिनेटमै असन्तुलित हुँदै तल झर्न थाल्यो। त्यसक्रममा जहाजमा एक्कासि आगो लाग्यो र कालो धुवाँको मुस्लो निस्कन थाल्यो। उक्त दृश्य केही स्थानीयले मोबाइलमा कैदसमेत गरेका छन्।
दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्। उनले गृहमन्त्री अमित शाहसहित सम्पूर्ण सुरक्षा तथा उद्धार टोलीलाई आवश्यक निर्देशन दिइसकेको र घटना स्थलतर्फ आफैं पनि जाने तयारीमा रहेको बताएका छन्।
एयर इण्डियाले पनि घटनापछि विज्ञप्ति जारी गर्दै दुर्घटनाको प्रारम्भिक जानकारी दिएको छ। यद्यपि, हताहतहरूको यकिन संख्या पुष्टि गर्न बाँकी रहेको जनाइएको छ। घटनास्थल हाल खरानीले ढाकिएको छ र उद्धारकर्मीहरू विमानमा लागेको आगो निभाउँदै शव निकाल्ने प्रयासमा जुटिरहेका छन्। मृतकहरूको शव अहमदाबादस्थित सरकारी अस्पतालमा राखिएको छ।
यस हृदयविदारक दुर्घटनाले भारत मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई समेत स्तब्ध बनाएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान थालिएको छ।