काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज (बिहीबार) तत्कालीन कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री (हाल दिवंगत) डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
तत्कालीन मुख्य सचिव (हाल दिवंगत) माधवप्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लालमणि जोशीलाई प्रतिवादी बनाइएको छ । सोही मन्त्रालयका तत्कालीन उपसचिव कलानिधि पौडेल, उपसचिवहरू गान्धी प्रसाद सुवेदी र हुपेन्द्रमणि केसी, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाविरुद्ध पनि मुद्दा दायर भएको छ ।
सोही विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सिताराम पोखरेल र नायब सुब्बा बुद्धि बहादुर कार्कीलाई पनि प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, नायब सुब्बा केदारनाथ भट्टराई र खरिदार मोहनराम शर्मालाई पनि प्रतिवादी कायम गरिएको छ ।