काठमाडौं । प्रहरीले काठमाडौं तीनकुनेमा चैत १५ गते राजावादीहरूको आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका– २७ बस्ने ५३ वर्षीय कमलकुमार विष्टलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनले चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्नुका साथै नेपाललाई श्रीलङ्का र बङ्गलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसुरमा म्याद थप समेत गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विष्टले कमल विष्टको नामको फेसबुक आईडीबाट नेपाल ‘श्रीलङ्का, बङ्गलादेशको मोडलमा अगाडि बढ्नुपर्छ’ भन्ने जस्ता उत्तेजक अभिव्यक्तिहरू उनको फेसबुक पेजमा लेखी विभिन्न व्यक्तिहरूलाई ट्याब समेत गरेको पाइएको छ ।