एमाले उर्लाबारी : कसको र कस्तो नेतृत्व !

नयाँ नेतृत्व र कार्यभार:


मिलन के राउत – जननेता मदनकुमार भण्डारी बेग्लै युगका बेग्लै महापुरुष हुनुहुन्थ्यो । दुई अलग भँगालामा विभक्त ठुला कम्युनिष्ट पार्टीलाई एकीकृत गरी राष्ट्रिय राजनीतिको केन्द्रमा विराजमान गराउने श्रेय उहाँकै हो ।

भलै चालिसको दशकमा अरुपनि ‘कम्युनिष्ट’ नामका नाङ्गले पसलहरू नखुलेका, नभएका होइनन् । पञ्चायती शासन परिवर्तनपछि मुलुकको राजनीतिक क्षितिजमा अजमाएको नेकपा एमाले दल जननेता भण्डारीकै ‘नासो’ हो । उनै मदनले भूमिगत जीवनका कयौँ हिँउदबर्खा मोरङको सुदूर पूर्वी उर्लाबारीमा व्यतीत गर्नु भएको थियो ।

मदनका विस्मृत क्षणहरू, पाइतालाको डोबहरू अझै कतै लुकेको उर्लाबारीमा उहाँकै पार्टी नेकपा एमाले यो बेला नगर अधिवेशनको चटारोमा छ । तत्कालीन महासचिवसँग ‘भेगीय साइनो’ गाँसिएको उर्लाबारीमा नगर कमिटीको अधिवेशन ‘कर्मकाण्डी’ मात्रै नबनोस् भन्ने सदिच्छा छ । ओहो ! ती दिन…..

विगतमा तत्कालीन उर्लाबारी गाविसका साथै समग्र पूर्वोत्तर मोरङलाई एमालेको ‘उत्तर कोरिया’ भन्नेहरुपनि थिए । उर्लाबारीमा पार्टीको राप, ताप र प्रभाव कस्तोसम्म थियो भन्ने जान्न २०५४ को स्थानीय चुनावलाई नियाल्नुपर्ने हुन्छ । त्यो बेला तत्कालीन राजघाट र मधुमल्लाका तीनवटा वडा (हालको उर्लाबारी नपा.मा) गाभिएका थिएनन् । प्रतिस्पर्धी दलहरू काँग्रेस, राप्रपा, जनमुक्तिलगायत भएभरका दलको मोर्चाबन्दी एकातिर थियो, एमाले एक्लै मैदानमा ।

अध्यक्ष उपाध्यक्षसहित गाविसको जम्मा ४७ वटै पदमा सुर्यध्वजावाहक उम्मेद्वारले शानदार जित हात पारेका थिए । बहुदल कालका दुवै स्थानीय चुनावबाट अध्यक्ष थिए, घनेन्द्र जिमी । जसको नेतृत्वमा गाविस ‘क्लीन स्वीप’ गरेर साँचो अर्थमा एमालेको ‘लालकिल्ला’ खडा गरिएको थियो । काफी चर्चा बटुलेको अवस्था थियो ।

त्यस समयको उर्लाबारी, जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा समेटिएको थियो । भरतमोहन अधिकारी पार्टीभित्र र बाहिर निर्विवाद मात्रै थिएनन् । राष्ट्रिय राजनीतिमा प्रतिष्ठित राजनीतिज्ञ थिए । जो मुलुककै सफल अर्थमन्त्रीका रूपमा आजपर्यन्त कहलिएका छन् । जसले बहुदलीय व्यवस्थाका तीन वटै आम चुनावका जीतमा ‘ह्याट्रिक’ गरेका थिए ।

उता मधुमल्लाका काशीनाथ पौडेल र राजघाटका चन्द्र थेवेले पनि दुइटै स्थानीय चुनावमा एमालेको विरासत ढल्न दिएका थिएनन् । चन्द्र थेबेबाहेक सबै दिवंगत भइसक्नुभएको छ । उल्लेखित प्रतिनिधि पात्रहरू एमालेको पार्टी जीवनका पुँजी थिए, अमूल्य निधि थिए । जसले पार्टीको ओज र विरासतलाई ढल्न दिएनन्, त्यस्ता अतुलनीय व्यक्तित्वहरू लाई स्थानीय कमिटीले सम्झनसमेत आवश्यक ठानेको छैन । जुन दुःखद छ ।

सार्वजनिक जीवनमा कुनै योगदान नभएकाहरूका नाममा समेत यहाँ अनेक कार्यक्रमहरू हुन्छन् । भरतमोहन, घनेन्द्र जिमीहरूका स्मृतिमा न कुनै प्रतियोगिता – गोष्ठी, न सार्वजनिक महत्वको संरचना निर्माण, कतै पनि पार्टीको पहलकदमी देखिँदैन । यो सोचनीय पक्ष हो ।

शनैः शनै मुलुक माओवादी द्वन्द्वको चपेटामा पर्यो, त्यसका बाछिटाले अन्यत्रझैँ उर्लाबारी अछुतो रहने अवस्था थिएन । ०६४ को चुनावसम्म आइपुग्दा ढुङ्गा, माटो, पातपतिङ्गर सबका सब माओवादी भइसकेका थिए । यस्तो बेला ‘किन चुनाव हारियो !’ भन्ने विषयले खासै माने राख्दैन पनि थियो । यद्यपि, दोस्रो संविधानसभा, पहिलो स्थानीय तहको चुनाव अनि गत प्रतिनिधि सभा चुनावमा पार्टीका प्रत्याशी के कति कारणले हारे ? औपचारिक समीक्षासमेत नहुनु लज्जाको विषय हो ।

उर्लाबारी भूगोलमा एमालेका साङ्गठनिक जुइना कताकता खुस्के यो स्थानीय एमालेजनमा ‘केस स्टडी’को विषय पनि हो । बिस्तारै तङ्ग्रिँदै भए पनि यहाँको स्थानीय सरकारको नेतृत्व र प्रदेशसभामा प्रतिनिधित्व पार्टीले पाएको छ । एमालेजनका लागि यो गौरवको आधारशिला भए पनि पर्याप्त होइन । जनमानसलाई भरोसा दिलाउन, समाजमा व्याप्त निराशा र भ्रमहरू लाई निरूपण गर्ने सवालमा नेतृत्व किन चुकिरहेको छ, यो मुख्य सवाल हो ।

‘देशमा केही पनि भएन’ भन्ने भाष्य सिर्जना भइरहँदा एमालेको नेता–कार्यकर्ताको प्रतिवादी क्षमता भुत्ते बन्नु चिन्ताको विषय हो । यो देशमा ऐनमौकामा गच्छेअनुसार सबै दल समूहले सत्ताभोग गरेकै छन् । आज प्रतिपक्षमा रहेर मच्ची – मच्ची वर्तमान सरकारको विरुद्धमा ध्वाँस दिने माओवादी खुल्ला राजनीतिमा आएको १८ वर्षमा १५ वटा सरकार बन्दा ११ वटामा सामेल भइसकेको छ । तीन पटक प्रचण्ड र एक पटक बाबुराम भट्टराईगरी चार पटक माओवादीले सरकारको नेतृत्व गर्‍यो । जबकी बेथिति र विसङ्गतिको दोषभागी एमाले मात्रै भए जसरी (कु)प्रचार हुँदा एमालेका नेता कार्यकर्ताले तथ्य र तर्कका आधारमा ‘जवाफी फायर’ खोल्न जाँगर चलाएको पाइँदैन ।

एमाले नेतृत्व सरकारका जनमुखी र लोककल्याणकारी कामहरूका प्रचार नगर्ने, अहिलेसम्म प्राप्त उपलब्धि केही पनि होइनन्, हिजो राजाका पालामा राम्रो थियो, आज केही पनि भएन भन्ने संकथन बन्दै जाँदा इतिहासको गर्तमा लुप्त भइसकेका राजावादीसमेत सल्बलाउन थालेका छन् । एमाले दल र नेतृत्वमाथि अप्रमाणित र सस्ता कुरा कति सजिलै सुन्न पाइन्छ । मुलुकमा उल्काजस्तो उदय भएका पात्रहरूको देवत्वकरण भइरहेका छन् । यस्तो प्रयत्नका पर्दा पछाडि अनेकथरी छन् । ती टोलटोलसम्म छन् । यस्ता पात्र र प्रवृत्तिबाट एमालेजनले चनाखो हुन जरुरी छ ।

नयाँ नेतृत्व र कार्यभार:

यही चैत २६ गते तय भएको एमाले नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । निःसन्देह पार्टीमा कोही न कोही प्रमुख हुन्छन् नै ! यो ठुलो कुरा भएन । उर्लाबारीका एमालेजनले कस्तो नेतृत्व छान्ने यो पेचिलो र अहम् विषय हो ।

पार्टीलाई हरेक मोर्चामा अब्बल बनाउने की प्रतिस्पर्धी पार्टीसँग भागबन्डाको गोलचक्करमा रुमली रहने ? हनुमानलाई आफ्नो शक्तिको आभास नभएजस्तो परिस्थितिको ठिक ढङ्गले आङ्कलन गर्न नसक्दा, समयमै रणनीति तय नगर्दा महत्त्वपूर्ण सङ्घसंस्थामा एमालेले नेतृत्व लिन चुकिरहेको अवस्था छ ।

वडामा सय भोट नल्याउने पार्टी र व्यक्तिलाई समेत एमालेले टेको लगाएर नेतृत्वमा पुराउनुपर्ने भाउँतो किन आइपरेको ? पार्टीको सर्वोपरि हितमा काम गर्ने की नेतृत्वको व्यक्तिगत लाभहानीमा सङ्गठन भजाउने ? सार्वजनिक सरोकारका ठाउँहरू जस्तै: मठमन्दिर, विद्यालय क्याम्पस, सहकारी, सामुदायिक वनलगायतमा पार्टीबाट नेतृत्व गर्ने अवसर आउँदा गोजीबाट फुत्त नाम निकाल्ने कि विषयगत ज्ञान भएका कमरेडलाई अवसर दिने ? जाँदै गरेका र आउने नेतृत्वले बुझ्नुपर्छ, यो वा त्यो बहानामा राजनीति गर्ने दिन अब छैनन्  । किनभने, आम कार्यकर्ताले सबैलाई देख्न र भोग्न पाएका छन् ।

आज धेरै कमरेडहरूले नगर कमिटीका विविध पदहरूमा दिलचस्पी देखाइरहनु भएको छ । सङ्गठित सदस्यमध्येबाट वडाबाटै प्रतिनिधि छानिएपछि नगर कमिटीमा दाबी गर्नुलाई अन्यथा नलिओैंपनि । तर, पदीय दायित्व, हाम्रा प्राथमिकता र सीमाको औचित्य पुष्टि गर्न सकौँ ।

उर्लाबारी भूगोलको संयोग नै भनौँ, वर्तमानमा नेकपा एमालेले नगर, प्रदेश र सङ्घीय सरकार गरी मुलुकको तीनवटै सत्ता संरचनाको नेतृत्व गर्ने अवसर पाएको छ । भनिन्छ, फलेको वृक्षमै झट्टीपनि लाग्ने हो ।

आज नेकपा एमालेले चौतर्फी प्रहार खेपिरहेको छ । जातिवादी, अतिवादी, राजावादी, माओवादी, घण्टीलगायत अनेक रङ्ग न ढङ्गका ‘वादी’हरूले चौकचौकमा, चिया पसल, सामाजिक सञ्जाल जताततै एमालेको बदख्वाइँ गरिरहँदा पार्टीको प्रतिरक्षा गर्ने सामर्थ्य राख्न सकिँदैन भने कृपया नेतृत्वमा आउन मरिहत्ते पनि नगरौँ । त्यो ठाउँमा कुनै निर्भीक र जुझारु कमरेडलाई शोधभर्ना गरौँ ।

पार्टीमा कसले कुन बेलादेखि भोटो फटायो, त्यसको अभिलेखीकरण हुन्छ नै ! तर ‘भोटो फटाए’ भन्दैमा अतीतका गाथा गाएर आफुलाई प्रमाणित गर्न छाडौँ । को कहिले पार्टीमा लाग्यो, त्यो गौण कुरा हो । आफ्नो अनुहार समाजमा, गाउँमा कति बिक्छ त्यो महत्त्वपूर्ण कुरा हो ।

भुईँ मान्छेका दुःखसुखमा जोडिन सकस मान्ने कमरेडहरूले पार्टीका पदहरू नभिरौँ । समर्थक मात्रै बनौँ । त्यो तपाई हाम्रै हितमा हुनेछ । आज कुनै कुलमान, बालेन, रवि, दुर्गा प्रसाईँजस्ता ‘उल्कापीण्ड’का बारेमा पार्टी केन्द्रले एकखालको दृष्टिकोण बनाइरहँदा, निर्णयहरू भइरहँदा सार्वजनिक खपतका निम्ति एमाले भन्नेहरूले फरक दृष्टिकोण राख्ने, फलाक्नेजस्ता प्रवृत्ति देखा परेका छन् ।

पार्टीको नेता भएपछि पार्टीका मर्यादा, सीमा, अनुशासन हुन्छ होला, त्यो अवस्थामा आयो भने दलीय सर्वोच्चता प्रधान हुन्छ, यो सबैले ख्याल गरौँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध भइरहँदा वैरीका अगाडि मौनता साँध्ने एमाले नेतृत्व आवश्यक छैन । खाँचो, एमालेभित्रको स्कुलिङ, त्यसको बुझाइ, नेतृत्व गर्ने कौशल क्षमताको हो ।

एमालेको नयाँ नगर नेतृत्व यस्ता छानिउन् जोसँग केही गुण होस् । त्यो ओैसत मान्छे मात्रै नहोस् । आज केही कमरेडहरू ‘जाँदै गरेका नेतृत्व’को आडमा आफुलाई सान्दर्भिक बनाइराख्ने कसरत गरिरहनु भएको छ ।

जोसँग आफ्नै सामर्थ्यमा विश्वास छैन, त्यस्ता बुख्याचा नेतृत्वको केही तुक होला ? नगरको पदाधिकारी तहमै बसेर सिन्को नभाँचेका, पार्टीले श्रेय लिनै पर्ने गरी त्यस्तो केही नगरेका, नितान्त प्राविधिक मान्छेहरू परिष्कृत समयमा ‘म्याच’ हुँदैनन् । नेतृत्व हत्याउन निरर्थक प्रयास नगरे कति जाति हुन्थ्यो !

प्रतिक्रिया दिनुहोस्