काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नभएको दाबी गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र आन्दोलनरत पक्षलाई संयमता अपाउन आग्रह गरेका छन् ।
लिङ्देनले सबै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु पर्ने बताए । ‘जसले जे प्रयोजनमा हिंसालाई प्रयोग गरे पनि त्यसको विपक्षमा छ, राप्रपा,’ उनले भने, ‘म आजको घटनाप्रति दुःख व्यक्त गर्दछु ।’ उनले आफ्नो पार्टीका मान्छेहरूको संलग्नता नभएको पनि दाबी गरे । ‘हाम्रो शान्तिपूर्ण प्रदर्शन हो, हाम्रा मान्छेहरू हिंसात्मक प्रदर्शनमा संलग्न छैनन् । त्यसको छानबिन हुनुपर्छ । त्यो सार्वजनिक हुने नै छ,’ उनले भने ।
अध्यक्ष लिङ्देनले प्रदर्शनकारीको मागलाई वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । ‘सबै प्रकारका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सरकारलाई पनि संयमता अपनाउन र प्रदर्शनकारीको मागलाई राजनीतिक रूपमै सम्बोधन गर्न सरकारसँग माग गर्छु, दमनबाट होइन । वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गर्छु,’ उनले भने । राजावादीको आन्दोलनका क्रममा आज तीनकुनेमा भएको झडपका क्रममा पत्रकारसहित २ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते छन् । निजी घर, पार्टी कार्यालय र सञ्चारमाध्यमको कार्यालयका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।