दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारी : दुर्गा भन्छन्,‘जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिँदैन’


काठमाडौं । तीनकुने प्रदर्शनका ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँ सम्पर्कविहीन भएका छन् । पक्राउ गर्न हिँडेको प्रहरी टोलीले उनको भक्तपुरको घरमा खोजी गर्दा पनि उनी भेटिएका छैनन् । प्रसाईँलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली खटिएको छ ।

तर, उनी सम्पर्कविहीन छन् । प्रहरी अधिकारीका अनुसार उनको खोजी तीव्र पारिएको छ । प्रसाईँको नेतृत्वमा प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीले तीनकुनेमा अराजकता मच्चाएका छन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा परेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।

त्यस्तै प्रदर्शनकारीले एक घरमा लगाएको आगोमा परेर पत्रकार सुरेश रजकको ज्यान गएको छ । गृह मन्त्रालयले शुक्रवार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । शुक्रवार दिउँसो उनी आफैँ गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए। त्यस क्रममा उनी ‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरूमा समेत देखिन्छ ।

‘जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिँदैन’

संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईँले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘साथीहरू भर्खरै मलाई पक्राउ गर्ने बारेको सूचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिँदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’ उनले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्