उर्लाबारी क्याम्पस : यसरी सम्भव भयो पोषणजंगको आरोह !


मिलन के राउत – उर्लाबारी । उर्लाबारी पोषणजंग आचार्य, मोरङको उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा सर्वसम्मत भएपछि स्थानीय स्तरमा फरक कोणबाट चर्चा भइरहेको छ । उनी नेपाली काँग्रेसको भातृ सङ्गठन नेविसंघको जिल्ला उपसभापतिको भूमिकामा छन् ।

यद्यपि विद्यार्थी सङ्गठनको ‘संसदीय फाँट’ स्ववियूमै सभापतिजस्तो उच्चासनमा ‘छलाङ’ मार्ने न उनको सोचाई थियो, न त नेविसंघका कसैले ‘नोटिस’ मै राखेका थिए । फरक सङ्गठनका साथीभाइले चर्चा गर्ने त कुरै थिएन । पुरापुर ‘लो प्रोफाइल’ मै थिए । निर्वाचनको मिति तय भयसँगै नेविसंघ र एमाले अखिलबिच प्रतिस्पर्धामा रस्साकसी चलिरहेकै थियो । दुवै सङ्गठनबाट सम्भावित सभापति उम्मेद्वारमा अरूकै नाम थिए ।

निर्वाचनको पुर्वसन्ध्या नजिकिँदै जाँदा दलहरूको स्थानीय नेतृत्वले उर्लाबारी क्याम्पसमा सर्वसम्मत स्ववियूमा सहमति गरे । जसअनुसार स्ववियू सभापतिको पद काँग्रेस निकट नेविसंघलाई भाग लाग्यो । नेविसंघलाई सर्वसम्मत ‘भाग’ लागेपनि सभापतिमा पोषणजंगको ‘इन्ट्री’ पेचिलो थियो । कारण, उनी मोरङ काँग्रेसका सभापति डिगबहादुर लिम्बू पक्षधर मानिन्छन् । यता उर्लाबारीको काँग्रेसी वृत्तमा डिगबहादुर इतर पक्षको ‘दबदबा’ रहँदै आएको छ ।

स्थानीय कांग्रेसजनमा गुटको छिनाझम्टी यतिसम्म छ की एकआपसमा हार्दिकता समेत देखिँदैन । अझ मोरङमा नेविसंघको कलहले सिङ्गो नेपाली काँग्रेस नै तरङ्गित बनेको अवस्था छ । यस्तोमा पोषणजंगले कसरी सभापति पद हत्याए ? सतहमा अनेक आशङ्का छन्, कतिपयले उनले गुट बदलेको भनेका छन् भने, कतिलेचाहिँ अर्थ – राजनीतिको ‘साइड इफेक्ट’ भन्नसमेत भ्याए । उनी त्यस्ता आरोपलाई खण्डन गर्छन् । भन्छन्– ‘त्यो सरासर गलत हो, ति सबै अनुमान हुन् ।

सङ्गठन (नेविसंघ)प्रतिको निष्ठा र समर्पण नै मलाई छनौट गर्नुपर्ने आधार हो ।’ जेजस्ता अनुमान र आधार भए पनि उर्लाबारी बहुमुखी क्याम्पसका १२ सय बढी विद्यार्थीको वैधानिक रूपमै नेता बनेर पोषणजंगले इतिहास रचेका छन् । आफ्नो लागि आफैले राजनीतिक गोरेटो कोर्न सफल भएका छन् । विनम्र शैलीले अधिकांश विद्यार्थीको प्रिय बनेकै थिए । विद्यार्थी राजनीतिमा सक्रिय छँदै थिए । विद्यार्थी राजनीतिमा लागेका थुप्रै नेताहरू युवा जोसको समुचित प्रयोग गर्न नसक्दा विफल भइरहेको प्रशस्तै उदाहरण पाइन्छ ।

तर, पोषणजंगले शालीन, शान्त र विनम्र भएरै स्थानीय काँग्रेस अगुवालाई रिझाउन सफल भए । उनी क्याम्पसका अधिकतर समस्या समाधान गर्ने हुटहुटी भएको सुनाउँछन् । पोषणजंग बीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । उर्लाबारी ४ आइतबारेका पोषणजंगको पारिवारिक पृष्ठभूमि काँग्रेस नै हो । त्यसैले सानैदेखि काँग्रेसप्रतिको झुकाव र लगाव बढेको उनी ठान्छन् । उनका बुबा योगराज आचार्य मिक्लाजुंग मोरङका गिनेचुनेकै काँग्रेस अगुवा हुन् । ‘छिमेकी दाइ’ साहित्यिक नामले पनि उनी चिनिएका छन् ।

उनै छिमेकी दाइ, श्रीमती अम्बिकासँगै तीन भाइ लालाबाला च्यापेर मिक्लाजुङ टाँडीबाट उर्लाबारी बसाइँ सरेका थिए । योगराज आचार्य ‘नोस्टालिक’ हुन्छन्, ‘आफ्नो काखमा लुटपुटिने कान्छो पोषणले कति छिटै, केही त मिराकल गर्यो ।’ योगराजका तीन छोरामध्येका पोषणजंग कान्छो हुन् । नवनिर्वाचित स्ववियू सभापति पोषणजंगले जिन्दगीका २४ वसन्तलाई छिचोल्दै गरेका छन् ।

विद्यार्थी आन्दोलनप्रति सुझबुझ राखे पनि उनी नेविसंघका अघिल्ला पुस्ताजस्तो ‘आन्दोलनको भट्टी’मा होमिएर आफुलाई साबित गर्नुपर्ने अवस्थामा छैनन् । पोषणको उमेर समूह नै यस्तो छ की अघिल्ला पुस्ताले लडेर ल्याइदिएको सहज राजनीतिमा आफुलाई हिँडाउने सुविधा जो पाएका छन् । ‘त्यति बेला गणतन्त्रका लागि अग्रजहरूले टाउको फुटाएका थिए, कुटाइ खाएका थिए, जेलनेल भोगेका थिए, अब भने हामीले समृद्धिको लागि समय खर्चिनुपर्छ,’ उनी भन्छन्, ‘समृद्धिका लागि सङ्कल्प गरेर भ्रष्टाचार अन्त्य गर्नुको विकल्पै छैन ।

हरेक क्षेत्रमा रहेको भ्रष्टाचारको न्यूनीकरण गर्नु नै समृद्धि हो । हिजो हाम्रो आन्दोलन चेतनाकै हो । अब भने समृद्धिको मुद्दा बन्नुपर्छ, बनाउनुपर्छ । उनी आफ्नै बारेमा भन्छन्, ‘म फिल्ड वर्कर हो । म त्यस्तो धेरै आदर्शवादी र विद्धान पनि होइन, तर, काम गर्ने जाँगर र हुटहुटी छ ।’

प्रतिक्रिया दिनुहोस्