उदयपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले राजा फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन् । नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीले आइतबार आयोजना गरेको तीन महिने जरा केन्द्रित अभियानको उद्घाटन गर्दै नेता राईले संघीयताको मर्म र भावना विपरीत भइरहेका सबैखाले हर्कतको एमालेले डटेर सामना गर्ने बताए ।
उनले भने, ‘केही समयता बाहिर रहनसाथ प्रचण्डले राजावादी, रवि, बालेन लगायतका अराजक झुन्डसँग हिमचिम बढाएर निरन्तर अहिलेको व्यवस्थामाथि नै प्रहार गर्नुभएको छ, त्यो केवल आफै सकिने बाटो मात्र हो ।’ ‘पछिल्लो समय सधैँ अस्थिरता र अराजक मच्चाउने झुन्डहरू राजा फर्काउने अभियान छन्,’ नेता राईले भने, ‘राजा, राणा शासन र अहिलेको व्यवस्थामा भएका कामको मूल्याङ्कन गर्नुस् कुन व्यवस्थामा विकास र समृद्धि भए ।’ थपे, ‘सबै विकास र समृद्धि लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा भएको हो जुन व्यवस्थामा जनता सर्वोपरि छन् ।’
‘प्रतिगामी तत्त्वहरू योजनाबद्ध ढङ्गले संघीयता र संविधानको प्रणालीलाई उल्ट्याउने खेलमा छन्,’ उनले भने, ‘अव जनता पछाडि हैन अगाडी बढ्न चाहिरहेका छन् त्यसका लागि संविधान संशोधन गरी थप राम्रो बनाउन चाहन्छन् ।’ उनले प्रचण्ड आफै धर्म, संस्कृति र पहिचान विरुद्ध अभियानमा लागेको आरोप लगाए । नेता राईले प्रचण्डको गतिविधि सत्ताका लागि कहिले एमाले कहिले काँग्रेससँग टाँसिएर विदेशीसँग लम्पसार पर्ने गरेको बताए । अस्थिर सरकार रहँदा जनताका विकास प्रतिको तीव्र चाहाना पुरा हुन नसकेको बताउँदै उनले मिसन ०८४ एमालेका लागि तीनै तह बहुमतसहितको एकल नेतृत्वको सरकार हुने बताए ।
उनले वैचारिक र नीतिगत प्रष्टता एमालेसँग मात्र भएकोले यो देशको रक्षाको कबज एमाले मात्र भएको स्पष्ट पारे । राईले स्थायी सरकारबाट मात्र देश समृद्धि हुने भएकाले दुई ठुला पार्टी बिच ०८४ सम्मका लागि सत्ता-समीकरणमा भएको बताए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा उदयपुर इन्चार्ज मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, उदयपुर क्षेत्र नं. २ का सङ्घीय सांसद अम्बरबहादुर रायामाझीले बोलेका थिए ।
तीन महिनासम्म सञ्चालित जरा केन्द्रित अभियान टोल कमिटी गठन हुँदै व्यक्तिका घरघरमा पुगेर सदस्यता बिस्तार, जनसङ्गठन निर्माण, पुनर्गठन, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन हुने पालिका कमिटीका इन्चार्ज तथा कोशी प्रदेश कमिटीका सदस्य जीवन कार्कीले बताए । अभियानको मुख्य उद्देश्य जनतालाई जागरूक बनाउने, सङ्गठित बनाउने, विकास प्रति साझा धारणा बनाउने भएकाले प्रत्येक मतदाताको घरसम्म अभियान पुर्याईने पालिका कमिटीका अध्यक्ष ललित मगरले बताए । अभियानकै अवसरमा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले रौतामाई ७ स्थित गितामागी मठ भवन तथा सामुदायिक वृद्धाश्रमको उद्घाटन गरे ।
कार्यक्रममा रौतामाई गाउँपालिका ७ कोल्वोटेका नेकपा माओवादीका नेता टिकबहादुर मगर एमालेमा प्रवेश गरेका छन् । त्यसै गरी रौतामाईका योजनासमेत योजना बैङ्कमा समेटिने गरी सार्वजनिक गरिएको छ ।