बेलबारीमा एमालेको दुई दिने प्रशिक्षण सम्पन्न


बेलबारी । बेलबारीमा नेकपा एमालेले दुई दिने सैद्धान्तिक/वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । मोरङ जिल्ला कमिटीअन्तर्गतको स्कुल विभागले बेलबारी नगरपालिका वडा नं.१ मा रहेको नेकपा एमाले बेलबारीको पार्टी कार्यालयको सभाहलमा बुधवार प्रशिक्षण सम्पन्न गरेको हो ।

पहिलो दिन जिल्ला उपसचिव तथा स्कुल विभाग प्रमुख सोमराज थापाले ‘सामाजिक न्याय, समावेशीकरण तथा नेतृत्वको व्यवहार’ एवं कोशी प्रदेश सदस्य नरेन्द्र बस्नेतले ‘नेकपा एमाले : अबको बाटो’ शीर्षकमा प्रशिक्षण गरेका थिए । त्यसै गरी कोशी प्रदेश स्कुल विभाग सदस्य यज्ञ शर्माले ‘समृद्ध नेपाल, सुखी नेपालीको आधारभूत अवधारणा’ शीर्षकमा प्रशिक्षण दिएका थिए ।

दोस्रो दिन केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज पूर्व प्रदेश मन्त्री जीवन घिमिरेले ‘मार्क्सवादी विश्व दृष्टिकोण, दर्शन, सिद्धान्त र व्यवहार’ विषयमा तथा जिल्ला सचिवालय सदस्य ईरानराईले ‘जबजको सिद्धान्त, नीति र कार्यक्रम’ विषयमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा मोरङ, क्षेत्र नं. ३ र ४ की इन्चार्ज तथा पूर्व राष्ट्रिय सभा सदस्य नैनाकला ओझाले पार्टीको जग कार्यकर्ताहरू भएकोले सैद्धान्तिक, वैचारिक र व्यवहारिक रूपमा सबल हुनु आवश्यक रहेकोले प्रशिक्षण उपलब्धिमूलक भएको टिप्पणी गरिन् ।

कार्यक्रममा कोशी प्रदेश सदस्यहरू राजकुमार ओझा, ज्ञानेन्द्र सुवेदी, प्रदेश सल्लाहकारहरू देवीप्रसाद गौतम, शिष्प्रसाद बराल र पीपी थापामगर तथा जिल्ला उपाध्यक्ष शान्ति भुजेल चेम्जोङको उपस्थिति रहेको थियो । प्राविधिकमा जिल्ला सदस्य सन्जोग लुइँटेल रहेको उक्त प्रशिक्षण कार्यक्रममा बेलबारी भूगोलमा रहेका जिल्ला कमिटी, नगरपालिका कमिटी र वडा कमिटीका पदाधिकारी गरी १ सय १० जना प्रशिक्षणमा सहभागी थिए । प्रशिक्षार्थीहरूलाई केन्द्रीय सदस्य नैनाकला ओझा र जिल्ला अध्यक्ष बाबुराम कार्कीले प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रमको सञ्चालन बेलबारी नगरपालिका अध्यक्ष शङ्कर गुरुङले गरे भने मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्कीले मोरङ जिल्ला कमिटीले १७ ओटा पालिका कमिटीहरूमध्ये १२ ओटा पालिका कमिटीहरूमा सम्पन्न प्रशिक्षण कार्यक्रमबाट एक हजार ४ सयभन्दा बढी कार्यकर्ताहरू प्रशिक्षित भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्