दुर्गा माविमा खुल्यो अप्रेन्टशीप छात्रवृत्तिको २५ कोटा !


उर्लाबारी । इन्जिनियरिङ विधामा पढाई हुने उर्लाबारीकै पहिलो दुर्गा माविमा प्रि–डिप्लोमा तहको बिल्डिङ कन्स्ट्रक्सन अन्तर्गत औद्योगिक परीक्षार्थी (अप्रेन्टिशीप) तालिम थप कोटासहित सञ्चालनमा आएको छ । गत वर्ष २० जनाको स्कलरसिप रहेको अप्रेन्टिशीपमा यस वर्षदेखि ५ वटा कोटा थप गरिएको हो ।

असोज ४ गतेदेखि १८ गतेसम्म आवेदन खुलाइएको अप्रेन्टिशीप तालिमको कार्तिक ५ गते परीक्षा हुने जनाइएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको छनौटमा परी यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको टेक्सका कार्यक्रम संयोजक सुमन अधिकारीले जानकारी दिनुभयो । अप्रेन्टशीप अध्ययनका लागि दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र तथा विपन्नको हकमा सम्बन्धित स्थानीय निकायको सिफारिसमा प्रशिक्षार्थीलाई सहभागी गराइनेछ । उहाँका अनुसार यो २४ महिने कोर्ष हुनेछ । जसमा २५ जनाले विना पैसा अध्ययन गर्न पाउने छन् ।

विद्यार्थीलाई बिमामा पनि समेटिने यो कार्यक्रम अन्तर्गत विद्यार्थीले उल्टै खाजा खर्च र भत्ता पाउने अधिकारीले बताउनुभयो । उहाँका अनुसार पढाई छाडेर बस्नुका साथै सीप सिकेर रोजगारी गर्ने सोचाई भएका युवाका लागि अप्रेन्टिशीप कार्यक्रम उपयुक्त छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना, नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना हो । दुर्गा माविमा अप्रेन्टिशीपसहित तीन वटा विधामा प्राविधिक शिक्षाको पढाई हुँदै आएको छ । २०७५ सालबाट प्राविधिक शिक्षामा फड्को मारेपछि डिप्लोमा इन सिभिल इन्जिनियरिङ (३ वर्षे) र सिभिल सव ओभरसियर (१८ महिने) कोर्ष सञ्चालनमा छन् ।

प्राविधिक शिक्षाका अलावा शैक्षिक क्रियाकलाप, बालमैत्री वातावरणसँगै नैतिक शिक्षा, व्यावहारिक ज्ञान, सामाजिक शिक्षा जस्ता जीवनोपयोगी पद्धतिले दुर्गा मावि गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूको आकर्षण बन्दै आएको छ । सबैको पहुँच पुग्ने गरी प्राविधिक शिक्षालयको व्यवस्था गरिनु आफैमा सुखद पाटो भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पारसमणि कुइँकेल बताउनुहुन्छ ।

इन्जिनियरिङका डिप्लोमा तहको अध्ययनपछि हाइड्रोपावर, सडक, खानेपानी आयोजना, पर्यटन लगायतका क्षेत्रमा सहजै रोजगारीको अवसर प्राप्त गर्न सकिने टेक्सका कार्यक्रम संयोजक अधिकारीको भनाई छ । यस्तै, औद्योगिक क्षेत्रलाई लक्षित प्रि – डिप्लो पढाइ पनि थप परिष्कृत गरी निरन्तरता दिइएको उल्लेख गर्दै औद्योगिक अभ्याससँग सम्बन्धित भएकाले यो अत्यन्तै उपयोगी हुने उहाँको भनाइ थियो । विद्यालयका प्रधानाध्यापक शारदा पाण्डेका अनुसार छुट्टै आइसीटी हल, डिजिटल बोर्डका माध्यमबाट पढाई हुनाले विद्यार्थीलाई कोर्ष अध्ययन गर्न सहज भएको छ ।

साथै आधुनिक औजार र उपकरण सिकाइका माध्यम हुन् । सामाजिक र आर्थिक रूपले पछि परेका विद्यार्थीको प्राविधिक शिक्षामा समतामूलक पहुँच होस् भन्ने यो कार्यक्रमको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीइभीटी)बाट सम्बन्धन प्राप्त यो विद्यालय इन्जिनियरिङ पढाइ हुने उर्लाबारीकै पहिलो प्राविधिक शिक्षालय हो ।

प्रतिक्रिया दिनुहोस्