सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गते देखी


तृस्ना कुलुङ्ग राई – बेलबारी । सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप-२०८१ असोज ११ गते देखि हुने भएको छ । एल एक्स सिटी फुटबल क्लबको आयोजनामा बेलबारी न.पा. वडा नं. ११ स्थित लक्ष्मीमार्गको प्रस्तावित रङ्गशाला लक्ष्मीमार्ग खेल मैदानमा ११ गते देखि १९ गते सम्म गोल्डकप हुने भएको हो ।

यस सातौँ संस्करणदेखि रनिङ्ग कप गोल्डकपमा २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित ट्रफी रहने छ । आइतबार क्लबले पत्रकार सम्मेलन गर्दै उक्त ट्रफी सार्वजनिक गरेका छन् । आयोजकका अनुसार उक्त ट्रफी बेलबारी ११, लक्ष्मीर्माग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन.बि. रुङ्गमाहाङ राईको स्र्मतिमा सौजन्य गरेका हुन् ।

उक्त रनिङ कप ट्रफी लगातार तिन पटकको विजेता टोलीले प्राप्त गर्ने क्लबका अध्यक्ष विक्रम राईले बताए । गोल्डकपको विजेता टिमले नगद पुरस्कार रु. ८ लाख र उप-विजेताले रु. ४ लाख प्राप्त गर्ने आयोजकले जनाएका छन् । छैटौँ संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गरेकोमा यस पटकको प्रतियोगितामा आयोजक एल एक्स सिटी फुटबल क्लब सहित झापा ११ फुटबल क्लब बिर्तामोड, भोजपुर फुटबल क्लब भोजपुर, सलहेस फुटबल क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, चित्लाङ्ग फुटबल क्लब काठमाडौँ, ब्रिगेड बोइज काठमाडौँ, दलसिंहपारा स्पोर्टस एकेडेमी जय गाउँ वेस्ट बेन्गाल, बुटवल लुम्बिनी फुटबल क्लब बुटवल र नेपाल पुलिस क्लब फुटबल क्लब काठमाडौँ गरी १० टिम बिच प्रतिस्पर्धा हुने क्लबका उपाध्यक्ष ज्ञानुराज राईले जनाएका छन् ।

आयोजकका अनुसार दैनिक खेलमा मेन अफ द म्याचलाई रु.५ हजारको दरले दिइने साथै विधागत पुरस्कारहरू सर्वोत्कृष्ट गोलकर्ता, सर्वोत्कृष्ट मीड फिल्डर, सर्वोत्कृष्ट प्रशिक्षक, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट डिफेन्डर र उदयमान खेलाडी रहनेछ । गोल्डकपको उद्घाटन खेल झापा ११ फुटबल क्लब र भोजपुर फुटबल क्लब बिच हुने क्लबका अध्यक्ष राईले जनाएका छन् ।

फोटो – सिसिर राई/ रोहन कुलुङ राई

प्रतिक्रिया दिनुहोस्