विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्छ : मुख्यमन्त्री कार्की


धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । शनिवार सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नु हुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गर्नु भयो । उहाँले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘ ७०० दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन लाग्यो । अब यसरी विकास हुन्न आजबाटै सच्याउने प्रतिबद्धता गर्नु पर्छ । यो देशभरकै अवस्था हो । यस्तो मोडलबाट विकास हुन्न । सुधार गरेर लागौँ, हामी सबैले आज प्रतिबद्धता जनाउनु पर्छ ।’ फरक प्रसङ्गमा मुख्यमन्त्री कार्कीले धर्म जाति सम्प्रदाय सबै कुरा छोडेर म धराने नेपाली हुँ भन्ने सोचेर धरानको संवृद्धि र विकासको लागि लाग्न आग्रह गन्नुभयो । धरानले आफ्नो पुरानो साख गुमाउँदै गएको बताउँदै उहाँले फेरी पुरानो साख फर्काउन लाग्न आग्रह गर्नुभयो । धरानको विकासमा प्रदेश सरकार सधैँ तयार रहेको समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘केही वर्ष यता केही विषयमा चित्त नबुझेर होला अहिले बसाइसराइ समेत भइरहेको छ । यसलाई रोक्नु पर्छ । म जस्तोसुकै सहयोग गर्ने छु । आपसी मतभेदहरू छन् भने पनि त्यसलाई बिर्सिएर हामी सबै धरानेहरु एक भएर अघि बढ्नु पर्छ ।’ मुख्यमन्त्री कार्कीले देश र प्रदेश दुवैको आर्थिक श्रोतहरू समेत बढ्ने सङ्केत देखिएको भन्दै अब विकास निर्माणले गति लिने प्रस्ट्याउनु भयो । खेलकुद र शिक्षाको केन्द्र समेत भएको भन्दै धरानमा विकास र संवृद्धिको ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा शिलान्यास गर्नुभएको सो भवन जनस्तरबाट सहयोग सङ्कलन तथा सङ्घीय सरकार, प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्