जनजागृतिको २३ औँ वार्षिक साधारण सभा सम्पन्न


कानेपोखरी । कानेपोखरीको जनजागृति सामुदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जनजागृति सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा शनिवार सम्पन्न भएको हो ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले कार्यक्रमलाई सम्बोधन गर्दै गरिबी न्यूनीकरणका लागि काम गरेकोमा समूहको प्रशंसा गरिन । इङ्गनामले जनजागृतिको कार्य स्वागत योग्य रहेको बताइन ।

जनजागृतिले सिपमूलक रोजगारीको लागि बिउ पुँजी वितरण र शिक्षामा विपन्न अति जेहनदार विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान लगायतका कार्यक्रमहरू गरेका छन् । सोही कार्यको उच्च मूल्याङ्कन रहेको इङ्गनामले बताइन । जनजागृतिको कार्यक्रमले सिङ्गो पालिकालाई पनि टेवा पुराएको उनले बताइन ।

उनले भनिन, गाउँपालिकाको स्रोत साधन पर्याप्त छैन, सीमित स्रोत साधनले जनताको भावना अनुसार सबै कार्य पूर्ण गर्न चुनौती भए पनि सामूहिक एकता र सहयोगले सम्भव हुने छ । सामुदायिक वनमा रही समितिले कुनै पनि किसिमको सेवा सुविधा नलिई सामाजिक सेवाको भावले काम गर्नु एकदमै सर्हानिय योग्य रहेको इङ्गनामले बताइन ।

जनजागृतिको कार्य सम्पादनको प्रशंसा गर्दै अन्य सामुदायिक वनले सिक्नु पर्ने सुझाव दिएकी छिन । वनले जनता आ.वि चिसाङ्ग र मैनावारी आ.विका २ छात्र २ छात्रा गरी ८ जनालाई रु.२ हजार ५ सयको प्रति दरले नगद पुरस्कार प्रदान गरेको छ । यस्तै वनको २३ वटा टोलीलाई रु.३० हजारको दरले बङ्गुर र बाख्रा पालनका लागि बिउपुजी रकम हस्तान्तरण गरेको छ । साथै आर्थिक आय आर्जनका लागि ढाका कपडा तथा पेटानी बुन्ने तान निःशुल्क २० थान सहयोग गरेको छ ।

३३६.७८ हेक्टरमा रहेको वनको वार्षिक आम्दानी ९५ लाख रहेको वनका अध्यक्ष भोजकुमार श्रेष्ठले जनाएका छन् । वार्षिक प्रतिवेदन प्रस्तुति गर्दै वृक्षारोपण, तारबार घेराबारा, जङ्गली हात्ती नियन्त्रणमा साइरन खरिद, रङ्गेली सडकको मानव बस्ती बस्तीमा रिटेनिङ वाल निर्माण , छात्रवृत्ति लगायत कार्यहरू गर्दै आएको अध्यक्ष श्रेष्ठले जनाए ।

वार्षिक रूपमा विकासमा २३ % ले लगानी गर्दै आइरहेको पनि श्रेष्ठ बताउँछन् । श्री जनजागृति सामुदायिक वन उपभोक्ता समूहमा १५ सय घरधुरी आबद्ध छन् भने आ.व २०८०÷०८१ मा ४ हजार ८९ क्यु फिट साल निकासी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्