बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । आज (मङ्गलवार) बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई काँग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका छन् । प्रदेशसभाको बैठकमा उपस्थित कूल १०३ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ ।

बैठकमा ७ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् । गत साउन ८ मा एमाले र काँग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले साउन १२ मा सरकारलाई पूर्णता दिएका थिए । उनले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्