कोशी प्रदेशमा माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी


मोरङ । कोशी प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरूले राजीनामाको तयारी गरेका छन् । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट पनि माओवादीले सत्ता बाहिर निस्किने भएको हो ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका चार मन्त्रीहरू छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री छन् । यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा प्रतिपक्षमा माओवादी पुगे पनि कोशी प्रदेशबाट भने मुख्यमन्त्रीकै आग्रहमा सरकारबाट राजीनामा दिएका थिएनन् । केन्द्रीय गठबन्धन अनुसारको नयाँ सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

आजै राजीनामा तयारी रहेको माओवादी स्रोत बताउँछ । संविधानको धारा १६८(५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आज दलको बैठक बसेर निर्णय गर्ने बताए । उनले भने, ‘आज हामीले बैठक राखेका छौ । बैठकपछि निर्णय सार्वजनिक गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्