प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ विश्वासको मत पाएका छन् । आज (आइतबार) को प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको छ ।

बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो । प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको समर्थन प्राप्त भएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए । प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भन्नेमा १ मत आएको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाएका छन् ।

नेकपा (एमाले) का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्री ओलीले आइतबार विश्वास मत लिएका हुन् ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली काँग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिए । प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत उभिएका छन् । गत असार १७ गते काँग्रेस र एमालेबिच नयाँ सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो । जसअनुसार पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ ।

प्रतिक्रिया दिनुहोस्