ढकाल बने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री


काठमाडौँ, ५ मङ्सिर / उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकालले पाएका छन् ।

बुधवार साँझ भएको मन्त्रिपरिषद् पुनर्गठनमा ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

हाल भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री यादवलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि मन्त्री ढकालले पाएको मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री यादवले पाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधान धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन भएको हो ।

बंगलादेशमा अध्ययनरत छात्राबारे विवादित अभिव्यक्ति दिएका कारण कानुन मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि तत्कालीन एमालेका प्रमुख सचेतक ढकाललाई पार्टीको निर्णयअनुसार प्रधानमन्त्री ओलीले कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्