काँग्रेस-एमालेबिच सत्ता गठबन्धन गर्ने सहमति : ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने


काठमाडौं । संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बिच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । संसदको पहिलो दल काँग्रेस र दोस्रो दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको हो ।

दुई दलबिच सोमबार राती शक्ति बाँडफाँडको समेत अन्तिम टुङ्गो लागेको स्रोतको दाबी छ । ललितपुरको भिभान्ता होटेलमा एमाले महासचिव शङ्कर पोखरेल र काँग्रेस नेता रमेश लेखकले सहमतिको खाका तयार पारेको एक नेताको दाबी छ । सहमति लगत्तै काँग्रेस नेताहरू बुढानीलकण्ठ पुगे भने एमाले नेताहरू बालकोट पुगेका थिए ।

एमालेसँगको सहमतिको मस्यौदा लगभग तयार भएको काँग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीहरूलाई बताएका छन् । उनका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने तयारी भएको छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ । ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली काँग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।

सहमति अनुसार एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्