प्रहरी महानिरीक्षक परिवर्तन हुँदैन हल्ला मात्र हो : प्रधानमन्त्री प्रचण्ड


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता समीकरणमा खटपट नभएको दाबी गरेका छन् । बजेटका सन्दर्भमा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टि सामान्य भएको बताउँदै प्रधानमन्त्री दाहालले समीकरण निरन्तर रहने बताए ।

एमाले अध्यक्ष ओलीले सरकारको विरोध जनाएको प्रसङ्गमा दाहालले सामान्य भएको बताए । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सत्ता समीकरणबारे बाहिर आएको कुरामा सत्यता नभएको दाबी गरे । ‘ओलीजीले विरोध गर्नु भएको होइन, गरे जस्तो मात्रै गर्नु भएको हो । त्यस्तो केही भएको छैन,’ उनले भने, ‘सत्ता समीकरणमा कुनै खटपट आएको छैन । कतिपय सन्दर्भमा मिडियामा आएका कुरामा सत्यता छैन । यो समीकरण राम्रैसँग अगाडि बढ्छ ।’

सरकारको गतिविधि चित्त बुझ्दो भएको बताउँदै आवश्यकता अनुसार अझ काम गर्न बाँकी रहेको बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा आएको बताए । ‘नीति तथा कार्यक्रम जनताको पक्षमा प्रस्तुत भएको छ । मलाई लाग्छ यो प्रतिनिधिसभाबाट राम्रैसँग पारित हुन्छ,’ दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा थुप्रै सकारात्मक पहल भएको छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझ गति दिन आवश्यक छ ।’

‘खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान हो, उथलपुथल गर्ने बेला भएको छैन’

प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक परिवर्तन नहुने बताएका छन् । उनले आफूले केही दिनअघि तीन वटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको र उनीहरूलाई ढुक्कले काम गर्न भनेको जानकारी दिए । ‘मैले अस्तिको दिन मात्रै तीनै जना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईँहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु,’ प्रचण्डले भने, ‘त्यही गतिमा उहाँहरूले काम गर्नु भएको छ । यो हल्ला मात्रै हो ।’

गोजीमा राजीनामा पत्र राखेर हिँडेको रास्वपाका मन्त्रीको भनाइलाई इङ्गित गर्दै प्रधानमन्त्री दाहालले त्यो पहिचानको लागि मात्रै भनेको जिकिर गरे । सरकारको निरन्तरतामा कुनै असर नभएको उनको भनाइ छ । ‘रास्वपाले पहिचानको लागि भन्नै पर्ने आवश्यकता होला भन्ने बुझेको छु । त्यस्तो अरू केही छैन,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्