टुटल र पठाओलाई यात्रु नबोक्न र भाडा नलिन सरकारको चेतावनी


काठमाडौँ, ४ मङ्सिर ।  सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग नगर्न सरकारले चेतावनी दिएको छ । कानुनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने सूचना यातायात व्यवस्था विभागले जारी गरेको हो ।

काठमाडौँ हाल सञ्चालनमा रहेको टुटल, पठाओलगायतका व्यवसायलाई ठुलो असर पुग्ने भएको छ । टुटल र पठाओले निजी सवारीलाई प्रयोगमा ल्याएर सम्पर्कको आधारमा भाडामा यात्रुलाई बोक्ने सेवा प्रलान गर्दै आएको छ ।

जारी गरिएको सूचना कार्यान्वयन गर्ने र कानुन मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही गर्ने विभागका निर्देशक तथा प्रवक्ता तीर्थराज खनालले बताएका छन् । उनले कानुनमा लेखिएको कुरा कार्यान्वयन गर्न लागेको बताएका छन् ।

सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको जानकारी गराउन उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्