मतदान सकिएसँगै मतपेटिका सङ्कलन सुरु : इलाम २ उपनिर्वाचन


इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदान सकिएसँगै मतपेटिका सङ्कलन थालिएको छ । मतपेटिका इलाम–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा सङ्कलन गरिएको हो ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
कार्यालयका अनुसार ७९ मतदान स्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो । जहाँ ७४५ जना कर्मचारी खटिएका थिए ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन् । मतगणना आइतबार बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताएका छन् । उनका अनुसार सबै मतपेटिका सङ्कलन हुन मध्यरातसम्म लाग्न सक्छ । मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना सुरु हुने बताइएको छ । भोलि बेलुकासम्ममा मत परिणाम आउने गरी मत गणनाको काम अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्