कानेपोखरीमा विपन्न परिवारलाई धमाधम घर निर्माण हुँदै : ३८ परिवारले पाए, १५ निर्माणाधीन, ३३ तयारीमा


कानेपोखरी । कानेपोखरी गाउँपालिकामा घर नभएका विपन्न परिवारको लागि धमाधम घर निर्माण कार्य भइरहेको छ । गाउँपालिकाले जीर्ण अवस्थामा रहेको घर र घर नभएको ८६ विपन्न परिवारलाई घर प्रदान गर्दै छ ।

गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामका अनुसार ३८ परिवारको लागि घर निर्माण भइसकेको छ भने १५ वटा घर निर्माणाधीन रहेको र ३३ घरको निर्माण कार्यको तयारीमा रहेको छ । कानेपोखरी वडा नं.४ स्थित क्याम्पाघाटमा १५ परिवारको लागि अहिले टिनको छानो, सिमेन्टको बल्क प्रयोग भएको, बरन्डासहितको २ कोठे घर, छुटै भान्सा घर र शौचालयसहितको चिटिक्कको घर निर्माण कार्य भइरहेको हो ।

अहिले क्याम्पाघाटमा निर्माणाधीन घरहरूको अवलोकनमा जाने हो भने नेपाली नागरिकसँगै काम गरिरहेको अवस्थामा विदेशी नागरिक पनि पाउन सक्छौ । उक्त विदेशी नागरिक न्यु जिल्यान्डका हुन । उनीहरू ह्याबिटेट फर ह्युमानिटी नेपालका प्रतिनिधिहरू हुन । गाउँपालिकाका अनुसार उक्त निर्माणाधीन घरहरूको लागि साहारा नेपालको माध्यमबाट ह्याबिटेट फर ह्युमानिटी नेपालले रु.४० लाख सहयोग गरेको छ ।

उक्त न्यु-जिल्यान्ड नागरिकहरूले आर्थिक सहयोगसँगै श्रम संस्कृतिको विकास गर्ने गरी श्रम पनि सहयोग गरिरहेका छन् । अहिले क्याम्पाघाटमा जनप्रतिनिधि, स्थानीय, नगर प्रहरी, न्यु जिल्यान्ड नागरिकहरू साथै साहारा नेपालका प्रतिनिधिहरू श्रमदान गरिरहेको भेट्न सक्छौ ।

नेपालको स्थानीय सरकार र नेपाली समुदायसँग मिलेर आर्थिक सहयोगसँगै श्रमदान गर्न पाउँदा ह्याबिटेट फर ह्युमानिटी नेपालका प्रतिनिधि साथै न्यु-जिल्यान्ड होम फाउन्डेसनमा कार्यरत डेबिट खुसी व्यक्त गर्छन् । ठट्यौली गर्दै डेबिट भन्छन्, “यहाँको मौसम अचम्मको छ, धेरै गर्मी छ ।” स्थानीय सरकारले साहारा नेपाल र ह्याबिटेट फर ह्युमानिटीसँगको सहकार्यमा वास्तवमै राम्रो र प्रभावकारी काम गरिरहेको डेबिट बताउँछन् ।

क्याम्पाघाटमा निर्माणाधीन घरहरू कानेपोखरी गाउँपालिकाको रु.१ करोड र साहारा नेपाल मार्फत ह्याबिटेट फर ह्युमानिटी नेपालको ४० लाख गरी कुल १ करोड ४० लाख रुपैयाँ लागतमा बन्दै गरेको हो । अध्यक्ष इङ्गनामका अनुसार वडा नं. १ मा थप १३ वटा घर निर्माण हुने छ ।

साथै कानेपोखरी गाउँपालिका, ह्याबिटेट फर ह्युमानिटी नेपाल र साहारा नेपाल बिचको त्रिपक्षीय साझेदारीमा वडा नं.३ स्थित राजगनमा बरन्डासहितको ३ कोठे घर र शौचालयसहितको ३० वटा घर निर्माण भइसकेको छ । अध्यक्ष इङ्गनामका अनुसार ह्याबिटेट नेपालको रु.६० लाख, कानेपोखरी गाउँपालिकाको रु.६६ लाख ४५ हजार र रु.२५ लाख ९ हजार बराबरको श्रमदानसहित जम्मा रु.१ करोड ५२ लाख बराबरको घर निर्माण कार्य सम्पन्न भइसकेको हो ।

क्याम्पाघाटमा विदेशी नागरिकहरूले गरेको श्रमदान कार्यले श्रम संस्कृतिलाई अनुसरण गर्ने वातावरण सृजना भएको केराबारी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी बताउँछन् । उनी भन्छन्, ‘वर्तमान अवस्थामा हाम्रो समाजमा श्रम संस्कृति भुल्दै गइरहेको बेला आर्थिक सहयोग गर्ने दाता संस्थाका प्रतिनिधिहरू विदेशी नागरिकहरूसँग श्रमदान गर्दा घर विहीन नागरिकलाई थोरै लगानीमा, राम्रो घर, चाडै निर्माण गरेर प्रदान गर्न सकिन्छ भन्ने अनुभूति भएको छ ।’ उपाध्यक्ष अधिकारीका अनुसार क्याम्पाघाटमा निर्माणाधीन घरहरूमा विशेष प्रकारको वर्षैसम्म टिक्ने गरी ट्रिट्मेन्ट गरिएको बासको प्रयोग भइरहेको छ । सहयोगी दाताहरूलाई अधिकारीले धन्यवाद पनि प्रदान गरेका छन् ।

वडा नं.२ मा पनि घर नभएका विपन्न परिवारको घर निर्माणको लागि कानेपोखरी गाउँपालिकाले १ बिघा जग्गा खरिद गरेको अध्यक्ष इङ्गनामले जनाएकी छिन । सोही स्थानमा जनता आवास कार्यक्रम अन्तरगत वडा नं.२ स्थित प्रधान टोलमा गाउँपालिकाको ३० र सङ्घीय सरकारको ६० प्रतिशतमा रु.७२ लाख ३१ हजारमा ३ कोठे घर र शौचालयसहितको १४ वटा घर निर्माण भइसकेको इङ्गनामले बताइन । इङ्गनामका अनुसार सोही स्थानमा ३५ प्रतिशत कानेपोखरी गाउँपालिकाको लगानी र कोशी प्रदेश सरकारको ६५ प्रतिशत आर्थिक सहयोगमा रु.१ करोड ३२ लाखमा थप २० वटा घर निर्माण हुने भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्