माओवादी केन्द्रले इलाम क्षेत्र नं २ मा सुहाङलाई सघाउने : उम्मेदवारी नदिने


इलाम । इलाम क्षेत्र नं २ मा हुने आसन्न उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने भएको छ । सत्तारुढ नेकपा एमालेसँग सहमति गरेर माओवादीले इलाममा उम्मेदवारी नदिने भएको हो । इलामबाट उम्मेदवारको रूपमा सिफारिस भएका धिरेन्द्र शर्मा ‘रमण’ ले इलाम नेकपा एमालेलाई छाडेर बझाङको प्रदेशसभा माओवादीले पाउने सहमति भएको जानकारी दिए ।

यसअघि माओवादी केन्द्र इलामले एकल रूपमा धिरेन्द्र शर्मालाई उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । शर्मा उम्मेदवार सिफारिस भएपछि माओवादी केन्द्रले वडा स्तरमा छलफल सुरु गरिसकेको थियो । माओवादी केन्द्रले गत २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं २ मा समानुपातिकतर्फ ५ हजार १ सय ५३ मत पाएको थियो ।

इलाममा नेकपा एमालेले स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्