पार्टीहरू मिलेर चुनावमा जाने र कसले कसलाई कति बेला धोका दिने टुङ्गो छैन : गगन थापा


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका छन् । पार्टीहरू मिलेर चुनावमा जाने र कसले कसलाई कति बेला धोका दिने टुङ्गो नहुने देखिएकाले अब कसैले गठबन्धन नगर्ने उनले बताएका छन् ।

‘हामीले केही दिनअगाडि नेपालको राजनीतिमा अर्को एउटा ठुलो परिवर्तन देख्यौँ । यसको अन्त्यमा के छ भन्ने कुरा खुल्दै जाला,’ गोदावरी नगरपालिकाको स्थापना दिवसका अवसरमा आइतबार भएको कार्यक्रममा महामन्त्री थापाले भने, ‘एउटा कुरा चाहिँ मलाई खुशी लागेको छ । चुनावभन्दा अगाडि, पार्टीहरू (नेताहरू) मिलेर चुनावमा जाने परम्परा थियो त्यसले राजनीतिलाई भ्रष्ट, लोकतन्त्रलाई विकृत र भित्रभित्र खोक्रो बनाउँदै लगेको थियो । अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने बारेमा कल्पना नै गर्दैन ।’

कसले कसलाई धोका दिन्छ त्यसको हिसाबकिताब नै नहुने भएकोले चुनावअघि गठबन्धन नहुने उनको भनाइ थियो । उनले निर्वाचन प्रणाली बदल्नु पर्ने पनि बताएका छन् । ‘काम गर्ने बेला हाम्रो ध्यान र ऊर्जा सरकार टिकाउन, बदल्न र खेल खेल्नमा समय गएको छ,’ उनले भने, ‘अहिलेको प्रधानमन्त्रीको कुर्सी हल्लिएको छ । कतिखेर म लड्ने वा धकेल्ने डरले । डराएको प्रधानमन्त्री कसरी काम गर्न सक्छ ?’

प्रतिक्रिया दिनुहोस्