पूर्व सचिव भिम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर : मेलम्ची परियोजना


काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्व सचिव र तीन जना विदेशीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पूर्व सचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताएका छन् ।

उनीहरू मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षको रूपमा भ्रष्टाचार मुद्दामा तानिएका हुन् । भ्रष्टाचार मुद्दा लाग्ने अन्यमा अर्थ मन्लयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापा छन् ।

त्यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, समितिका तत्कालीन लेखा उपसचिव मणिभन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, निर्माणस्थलका इन्जिनियर तत्कालीन उपकार्यकारी निर्देशक भोजविक्रम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

परामर्शदाता एप्टिसा– बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, निर्माण व्यवसायी एप्टिसा र बेट्स कन्सल्टिङ जेभी र अर्को निर्माण व्यवसायी सीएमसी डि रविनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्