काठमाडौँ, १ मङ्सिर / प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज दिउँसो चार बजे बस्ने भएको छ । ओलीले बालुवाटारमा बोलाइएको बैठकमा सरकार तथा पार्टीको विषयमा जिम्मेवारी हस्तान्तरणको बारेमा छलफल हुन भएको छ ।
प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको कार्यकारी भूमिका प्रचण्ड र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीका तयारी रहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री केपी ओलीले सरकार र पार्टीको कामलाई प्रभावकारी बनाउन विशेष निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा जिम्मेवारी हस्तान्तरणको समेत तयारी गरेको छ ।
२५ सदस्यीय मन्त्रिपरिषद्बाट कम्तीमा सातदेखि १० जना मन्त्री फेर्ने गरी गृहकार्य चलेको छ भने नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार तथा पूर्वमाओवादी बाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाममा छलफल चलेको स्रोतले बताए ।
प्रधानमन्त्री ओली प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले जिम्मेवारी हस्तान्तरण गर्न बैठक बोलाएको बालुवाटार स्रोतले बताए ।