काठमाडौँ, ३० कात्तिक । राष्ट्रिय टिमबाट फुटबल खेल्दै आएका चार खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तत्कालको लागि हटाएको छ ।
खेलाडीहरूमा विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ रहेका छन् । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका यी खेलाडीहरूले खेल्नु नपाउने भएका छन् ।
शुक्रवार राति ठमेलको नाइट क्लबमा पुगेका चारै खेलाडी मातिएको अवस्थामा भेटिएको थियो । उनीहरूलाई अनुशासन उल्लंघन गरेकाले तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताएका छन् ।
नेपालले मङ्सिर ३ गते कुवेत विरुद्ध खेल्ने भएकोले नेपाली टिम शनिवार कुवेतविरुद्ध भुटान जाने कार्यतालिका रहेको छ । कुवेत विरुद्ध खेलमा नेपाली टिमलाई अलि असर परेपनि टिममा सुवास गुरुङ समावेश भएको छ ।