“कसैको पद र अनुहार हेरेर कानुनी कारबाही नहुने भन्ने छैन” : मन्त्री कार्की


मोरङ, ३० कात्तिक / कसैको पद र अनुहार हेरेर कानुनी कारबाही नहुने प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । उनले शनिवार मोरङको सुन्दरहरैचामा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

मन्त्री कार्कीले भने,‘नेपाल विधिको शासन भएको मुलुक हो, कसैको पद र अनुहार हेरेर कानुनी कारबाही नहुने भन्ने छैन ।’ संसद् सचिवालयकी कर्मचारीलाई बलात्कारको आरोपमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा र बम विस्फोटमा परेका घाइतेहरुलाई जिउँदै ईंटाभट्टामा १२ वर्षअघि जलाएको आरोपमा थुनामा परेका सांसद मोहम्मद अफताब आलमको उदाहरण प्रस्तुत गर्दै अपराध गर्ने जो कोही भए पनि कानुनले कसैलाई छुट नदिने मन्त्री कार्कीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ एवम् इलाका प्रहरी कार्यालय बेलबारीद्वारा आयोजित नागरिक उत्तरदायित्व तथा गुणस्तर सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेश नं. १ का प्रदेश सभा सासंद विजय विश्वास, सुन्दरहरैचा नगरपालिका प्रमुख शिव ढकाल, बेलबारीका उपप्रमुख तारा पराजुली, केराबारी गाउँपालिकाका रोहित कार्की, १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रदेश प्रहरी तालिम केन्द्र १ नं. प्रदेश, विराटनगरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक पुरुषोत्तम कँडेल, जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित मानिसहरूले विशेष कानुन सम्बन्धित समस्यहरु राख्नुको साथै विविध विषयमा प्रश्न गरेका थिए । नगरपालिका र गाउँपालिकाको समस्याबारे आएको प्रश्नमा सम्बन्धित नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका प्रमुखहरूले जिज्ञासा मेटाएका थिए ।

https://youtu.be/8S-u5zCYIKE

प्रतिक्रिया दिनुहोस्