कम्युनिष्ट पार्टी विभाजित हुँदा जनताले के पाए ? देशले के पायो ? : उपमहासचिव गुरुङ


तनहुँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई नै हानी हुने बताएका छन् । एमाले शुक्लागण्डकी नगर कमिटी तनहुँले आइतबार बेलचौतारामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले नेकपा विभाजित हुँदा केपी ओली वा माधव नेपालले केही नपाएको बरु देशले राजनीतिक स्थिरता र समृद्धिको बाटो गुमाएको बताए । ‘ल एमालेले त पाएन पाएन, केपी ओलीले त पाएनन् पाएनन्, माधव नेपालले के पाए ? जनताले के पाए ? देशले के पायो ? सधैँ यस्तो हर्कत किन गर्छन् नेपालका नेताहरू’, उनले भने ।

दुःख गरेर बनाएको पार्टी नेताहरूको झगडाले फुट्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । नेताहरूको गँगटे लडाइँका कारण नेपालका कम्युनिष्ट पार्टी अघि बढ्न नसकेको उनको भनाइ छ । ‘कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्छ, गँगटे लडाई लड्ने नेतालाई सबक सिकाइ दिनुपर्छ’, गुरुङले भने । एमालेका धेरै नेताहरू आफ्नो घर डढाएर खरानीको टीका लगाएर हिँडेको उनले तर्क गरे । ‘आफ्नै घर डढायो, खरानीको टीका लगायो हिँड्यो, अरूलाई त धोका दिए दिए आफैलाई पनि धोका दिए, सारा श्रमजीवी जनतालाई दुःख दिए’, गुरुङले भने ।

जनताले नचाहँदा नचाहँदै नेताहरूका कारण पार्टी फुट्ने गरेको गुरुङको भनाइ छ । आफ्नो पार्टी ठुलो बनाउन लाग्नुपर्ने बताउँदै उनले शक्ति नपुग्दा मात्र भाइ–भाइ मिल्नुपर्ने टिप्पणी गरे । प्रचण्ड र माधव नेपालले सानो चित्त गर्दा नेकपा विभाजित भएको गुरुङको भनाइ छ । ‘माओवादीको बुद्धि पुगेन, माधव नेपालको बुद्धि पुगेन, सानो रहेछ दिमाग, नेता ठुलो भएर के गर्नु दिमाग त यत्रो रहेछ’, उनले भने । एमालेले विचार र सिद्धान्त छाडेर नभएर केपी ओलीसँग रिस उठेर माधव नेपालले पार्टी छाडेको गुरुङको भनाइ थियो । व्यक्ति विशेषसँग रिस उठ्दैमा पार्टी छाड्ने नेताको विचार र आदर्श कस्तो होला भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्