डा.गोविन्द केसी जिन्दाबाद भनेपछि देशमा चिकित्सक कहाँबाट पाइन्छ : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले डा.गोविन्द केसीको आन्दोलनमा जिन्दाबाद भनेर मुलुकमा विद्यार्थीहरूले चिकित्सा शिक्षा पढ्नबाट वञ्चित भएको आरोप लगाएका छन् । शुक्रवार नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रादेशिक सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले डाक्टर केसीको अनसनले मुलुकमा चिकित्सकको अभाव भएको बताएका हुन् ।

‘गोविन्द केसीको आन्दोलनमा देशमा चिकित्सा शिक्षाको पठन पाठन बन्द भएर भारत लगायतको देशमा फस्टाइरहेको छ,’ उनले भने, ‘वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सार्क राष्ट्रका विद्यार्थीहरू पढ्न मारामार गर्थे तर अहिले नेपालका विद्यार्थी पनि पढ्न चाहँदैनन् । विदेशबाट चिकित्सा शिक्षा पढ्न आउने विद्यार्थीहरूले डलर बोकेर आउने गर्दा त्यसको लाभ यहाँका पसलेलगायत किसानसम्मले प्राप्त गरेका थिए ।’

चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीले ल्याउने डलर गोविन्द केसीको आन्दोलनले बन्द भएको तर अहिले अरब देशहरूबाट नेपाली दाजुभाइले मजदुरी गरेर पठाएको डलर बोकेर हुनेखाने वर्गका छोराछोरी युरोप पढ्न जाने गरेको बारे कसैले बोल्ने नगरेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘गोविन्द केसीको आन्दोलनमा राष्ट्रवादको चर्को नारा लगाउने र लाइक, कमेन्टका लागि ठुलो स्वरमा भाषण गर्ने नेताहरू अहिले मिसन रोजगारी भन्न थालेकोलाई के भन्ने ?,’ उनले भने, ‘पैसाको कमीले हामी गरिब र रोजगारी विहीन भएका होइनौँ, मानसिक द्वन्द्वले गरिब भएको बुझ्नु जरुरी छ ।’

मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील भएर काम गरिरहेको बताएका छन् । ‘३५ सय तिरेर स्वास्थ्य बिमा गर्ने सबैका अस्पतालहरूले एकै पटकमा एक लाखको उपचार गरेर सिद्ध्याइदिएपछि कहाँबाट स्वास्थ्य क्षेत्र सुध्रिन्छ,’ उनले भने, ‘बिमा गरेका सबैले एक÷एक लाखको दरले उपचार गराएपछि बिमा कम्पनी डुब्दैन ? बिमा कार्यक्रम बन्द हुँदैन भने के हुन्छ ?’

स्वास्थ्य चौकीको काम औषधी बाँड्ने मात्रै नभई, रोग लाग्नका लागि नदिनेका साथै खानपानको कुरामा समेत चेतना फैलाई अनुसन्धान गर्ने रहेको मुख्यमन्त्री कार्कीले बताए । ‘प्रदेशले स्वास्थ्यको क्षेत्रमा तलैबाट केही गर्ने भन्ने सोचले १० वर्ष भन्दा मुनिका बालबालिकाकलालाई निःशुल्क उपचारको व्यवस्था गरेको छु,’ उनले भने, ‘प्रदेशवासीलाई कडा रोग लाग्ने कारणको बारेमा अध्ययन, प्राविधिक शिक्षाका विषयमा छात्रवृत्तिको प्रदेश सरकारले व्यवस्था गरेको छ ।’

प्रदेश सरकारले मानवीय विकासलाई ध्यानमा राखेर काम अघि बढाएको उनले सुनाए । ‘हामी नागरिकको दैनिकी र जीवनशैलीसँग जोडिएर काम गर्न खोजिरहेका छौँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशमा शैलजा आचार्य हृदयरोग उपचार केन्द्र, इटहरीमा जलन अस्पताल निर्माणको प्रक्रिया सुरु गरिरहेको छु ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना, मुल्याङकन महाशाखा प्रमुख डा.कृष्ण पौडेल तथा शाखा प्रमुख पुष्पराज पौडेलले कोशी प्रदेशमा जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा कोशी प्रदेशमा खाद्य असुरक्षा १३ प्रतिशत रहेको उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयले १४ हजार २ सय घरधुरीमा गरेको सर्वेक्षणमा इन्टरनेट प्रयोगको प्रतिशत राष्ट्रिय भन्दा कम रहेको, सुर्ती तथा मदिराजन्य पदार्थको प्रयोग बढी रहेको, प्रदेशका ९८ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा रहेको, ८९ प्रतिशत धरधुरीले मलमूत्रको उचित व्यवस्थापन गरेको उल्लेख गरिएको छ ।

तथ्याङ्कमा प्रजनन उमेर समूहका ७७ प्रतिशत पुरुष तथा महिलामा स्वास्थ्य बिमा नगरेको, प्रजनन उमेर समूहका महिलाले बच्चा जन्माउने दर औसत भन्दा बढी रहेको, किशोरी गर्भवती हुने दर औसत भन्दा केही कम रहेको, परिवार नियोजनका साधनको प्रयोग बढी रहेको, गर्भवती सेवा कभरेजको अवस्था औसत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, स्वास्थ्य जाँचका लागि ७४ प्रतिशत महिला स्वास्थ्य सेवाको पहुँचमा रहेको, पाँच वर्ष मुनिका बाल मृत्युदर प्रति हजारमा ३३ रहेको, बाल खोप प्राप्त गरेको अवस्था औसत रहेको, बाल कुपोषणको अवस्था कम रहेको, स्तनपान गराउने प्रवृत्ति औसत भन्दा कम रहेको, महिला र बालबालिकामा रक्त अल्पताको दर कम रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखका साथै स्वास्थ्य कोशी प्रदेशमा रहेका स्वास्थ्य क्षत्रका अधिकारीहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्