रास्वपा बेलबारीको नगरपालिकालाई ५ प्रश्न : सि.बि.सी सेवा सुरु गर्न १ हप्ताको अल्टिमेटम


बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगर समितिले बेलबारी नगर अस्पताल सम्बन्धी बेलबारी नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । नगर अस्पतालमा रहेको बिग्रेको सि.बि.सी (कम्पेल्ट ब्लड काउन्टर) मेशिन बनाएर चाँडो जाँच सुरु गर्न आग्रह गर्दै नगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।

सि.बि.सी बिग्रिएको सूचना बेलबारी नगर अस्पतालले कार्तिक महिना १९ गते सार्वजनिक गरेको थियो । तर करिब २ महिना पुग्न लाग्दा पनि उक्त स्वास्थ्य सामाग्री सञ्चालनमा नआए पछि रास्वपाले ध्यानाकर्षण पत्र नगर प्रमुख दिल प्रसाद राईलाई शुक्रवार बुझाएको छ ।

बिरामीको कुनै पनि रोगको पहिचानको लागि सि.बि.सी अत्यावश्यक पर्ने महत्त्वपूर्ण मेशिन बिग्रेकोले नगर अस्पतालमा सेवा लिन आउने बिरामीहरूले अन्य निजी स्वास्थ्य संस्थामा रु.५ सय तिरेर गर्नु पर्ने बाध्यता भएको जानकारी गराउँदै, १ हप्ता भित्र सञ्चालनमा नआए नगरपालिका कार्यालय प्राङ्गणमा चरणबद्ध शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने नगर पार्टी सभापति कुमार खुलालले बताएका छन् ।

नयाँ हुँदा हुँदै मेशिन बिग्रिनुको कारण के हो, मेशिन बिग्रेको हो भने पनि तुरुन्त मर्मत गरेर चालु किन नगरेको, मेशिनले काम गरेन भने किन नयाँ मेशिन खरिद नगरेको भनी प्रश्न ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । कोशी प्रदेश अस्पताल पुनः बेलबारीमै स्थापित गराउने विषयमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रश्न उठाएका छन् ।

ध्यानाकर्षण पत्र वाचन गर्दै खुलालले भने, ‘कोशी प्रदेश अस्पताल पुनः बेलबारीमै स्थापित गराउन करोडौँ मूल्यको बेलबारी नगरको जग्गा प्रहरी सङ्गठनलाई दिने निर्णय गर्दै गर्दा आफ्नो स्वामित्वमा रहेको नगर अस्पतालमा एउटा सामान्य क्लिनिकमा समेत उपलब्ध हुने सि.बि.सी परीक्षणको सेवा उपलब्ध नहुनु लज्जाको विषय हैन र ? यसको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी स्थानीय सरकारको हैन ?’

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रश्नै प्रश्न नगरपालिकालाई राख्दै उत्तरसहित सि.बि.सी परीक्षणको सेवा सञ्चालनको लागि १ हप्ताको अल्टिमेटम दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्