इपिएस परीक्षाको विषयमा भएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमाथि आगजनी


काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने परीक्षा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी समेत गरेका छन् ।

बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा चढेर पार्टीको बैठकमा सहभागी हुन जाँदै गरेका मन्त्री ज्वालालाई निकालेर प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट गाडी पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ । इपिएस कार्यालय ग्वार्कोमा प्रदर्शन गर्न पुगेको युवाहरूको समूहले प्रदर्शन गर्दा बालकुमारी क्षेत्रको सडक अवरुद्ध भएको छ ।

कोरिया भाषा परीक्षाका लागि सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो ।

सिप बिल्डिङमा करिब ३० हजारको हाराहारीमा युवाहरूले परीक्षा दिएका थिए । त्यसमा करिब ३९ सयको हाराहारीमा मात्र उत्तीर्ण भएका र बाँकी अरू सबैले आवेदन दिन पाउनुपर्ने माग गर्दै आएका थिए । अन्यको हकमा भने इपिएस शाखाले पुस ६ मा खुलाएको आवेदनमा करिब एक लाख ४३ हजार युवाले दरखास्त दिइसकेका छन्। उनीहरूको परीक्षाको मिति भने तोकिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्