‘केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे समन्वय र संघर्ष गर्छौ’ : मुख्यमन्त्री कार्की


विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् । नेपाल उद्योग परीसंघ कोशीले शनिवार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद् र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने बताएका हुन् ।

उनले उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृत्तिमा परिवर्तन ल्याए मात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताएका छन् । उनले उद्योगी व्यवसायी छुट्टै नभई राज्यको नै अंग भएको स्विकारेर त्यही अनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताएका हुन् । ‘उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको छ । उनले भने, नेपाली जनताको आवश्यकता र अपरिहार्यता राष्ट्रपति ज्यूले बुझ्नुभएको छ । त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयनमा चासो राखिदिनु होस् ।’

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुन्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् । उनले संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताएका हुन् । ‘कोशी प्रदेश उद्योग व्यवसायको धरोहर भएकोले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीको भूमिका अपरिहार्य रहेको छ । उनले भने, देशको उत्पादन निर्यात र आयात प्रतिस्थापन गर्न सकेका छैनौँ, यस्तो अवस्थामा विदेशी मुद्राको संचिति मजबुत हुनु आवश्यक छ ।’

मुलुकमा सम्मान जनक रोजगारी नहुँदा र यहाँका युवा शक्ति विदेश पलायन भइरहेको प्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गरेका छन् । ‘वन, खनिज र कृषिमा आधारित उद्योगको स्थापना गरी रोजगारी सृजना गरौँ । यसको नेतृत्व उद्योगी व्यवसायीले नै लिनुपर्छ । उनले भने, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा हामी सबै देशवासी जुटौँ ।’ मुलुकमा उद्योग, व्यवसाय मैत्री नीति आवश्यक रहेको उनको भनाइ थियो ।

‘सूचना प्रविधि नीतिलाई सहज गरिदिने हो भने व्यापारघाटामा महत्त्वपूर्ण योगदान हुन्छ । उनले भने, जलवायु परिवर्तनले निम्त्याइ रहेको जटिल परिस्थितिप्रति हामी सचेत भएर महत्त्वपूर्ण रूपमा काम गर्नुपर्छ ।’कोशी प्रदेशमा रहेका हलेसी, वराहक्षेत्र, पाथिभारा लगायतका धार्मिक तथा आकर्षक पर्यटकीय क्षेत्रको विकास गरेर अर्थतन्त्रमा योगदान पुर्याउन आवश्यक रहेका राष्ट्रपति पौडेलले बताए । स्वतन्त्रता सेनानीलाई गरेको सम्मान लोकतन्त्रको सम्मान भएको उनको भनाइ थियो ।

विराटनगरका उद्योगी, व्यवसायीलगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका हुन् । कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सब भन्दा बढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्