बेलबारी ११ लक्ष्मीमार्गमा हात्तीको आतङ्क : स्थानीयलाई सतर्क रहन वडाध्यक्ष विक्रम राईको आग्रह


बेलबारी । बेलबारी नगरपालिका वडा नं.११ लक्ष्मीमार्गमा हात्तीले स्थानीयलाई आतङ्कित बनाएको छ । करिब १२ वटा हात्ती लक्ष्मीमार्गमा प्रवेश गरेर आतङ्कित बनाएको वडा अध्यक्ष विक्रम राईले जनाएका छन् ।

राईका अनुसार हात्तीले २ घरमा क्षति पुराएको छ । लक्ष्मीमार्गबाट इलाका प्रहरी कार्यालय बेलबारी, नगर प्रहरी, दमकल, स्थानीयको सहयोगमा खेदाउँदा उत्तर पूर्वपश्चिम मुख्य सडक हुँदै जङ्गल तर्फ हात्ती प्रवेश गरेको राईले बताए । वडाध्यक्ष राईले वडावासीहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

कति क्षति भो भन्ने अहिले यकिन भइसकेको छैन । मङ्सिर ८ गते बेलुकी पनि करिब २७ वटा सङ्ख्यामा रहेको हात्तीहरूले बेलबारी ३ मा रहेको खपतरी बस्नेत धार्मिक बन भित्रको टिनको छानो भएको घरको संरचना भत्काउनुको साथै बेलबारी ३ र ४ मा लाखौँको अन्नबाली तथा फलफूलका रुख बिरुवाहरूको क्षति भएको थियो ।

हात्तीको बथानमा करिब ६ भन्दा बढी बच्चाहरू पनि रहेको स्थानीयहरूले बताएका छन् । हात्तीबाट हुने क्षतिबाट सुरक्षित हुन पूर्ण सतर्क रहन बेलबारी नगरपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्