चीनको धारणा सार्वजनिक, ‘नेपाली भूभाग मिचेको छैनौं’


काठमाडौँ, २७ कार्तिक / भारतको नयाँ नक्साको विरुद्ध नेपालमा देशव्यापी आन्दोलन भइरहेको बेला चीनले आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपाल र भारतबिच कालापानी क्षेत्रको सीमा विवादमा संसदीय समितिमा चीनले पनि नेपालको भूमि मिचेको आरोप लागेपछि चीन बोलेको हो ।

बिहीबार साँझ विज्ञप्ति मार्फत नेपाल स्थित चिनियाँ दूतावासले चीनले नेपाली भूभाग नमिचेको दाबी सार्वजनिक गरेको छ । केही गैरजिम्मेवार सञ्चारमाध्यम तथा व्यक्तिहरूको समूहले चीनले पनि नेपालको भूभाग मिचेको भन्ने विषयमा जानकारी पाएको बाताउदै यस प्रकारको आरोपहरू आधारहीन र अन्योल सिर्जना गर्ने र आममानिसको ध्यान अर्कोतर्फ मोड्ने उद्देश्यले गरेको चिनियाँ दूतावासले बताएको छ ।

नेपाल र चीनबिच सन् १९६१मा सीमा सन्धिमा हस्ताक्षर भई सीमा छुट्ट्याउनुको साथै सीमाकांन गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ । चीनले ११ स्थानमा नेपाली भूभाग मिचेको भन्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा नेपाली काँग्रेसका सांसदद्वय देवेन्द्रराज कँडेल र अमरेशकुमार सिंहले आरोप लगाएका थिए । जस कारण चीनले आममानिसको ध्यान अर्कोतर्फ मोड्ने उद्देश्यले आएको बताएको छ ।

नेपाल र भारतबिचको कालापानी भूभागको विवाद नेपाल र भारतबिचको मित्रवत् परामर्श र वार्ताको माध्यमबाट समाधान गर्न चीनको चाहना रहेको छ । चीनले नेपाली पक्षको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सधैँ सम्मान गर्ने बताएको छ ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई भारततर्फ समावेश गरेपछि विवाद सृजना भएको हो । सोही विरोधमा देशभर गो ब्याक इन्डियाको नाराको साथ आन्दोलन चर्किँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्