२६ जना प्रहरी सम्पर्कविहीन : सात दिनभित्र सम्पर्कमा नआए बर्खास्त गरिने


काठमाडौं । नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन (गैर हाजिर) रहेका पाइएको छ । लामो समयदेखि गैर हाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।

गैर हाजिर हुनेमा प्रहरी हवलदार, सहायक हवलदार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन् । प्रहरी हवलदार २ जना, सहायक हवलदार ४ जना, प्रहरी जवान १७ जना र प्रहरी कार्यालय सहयोगी ३ जना गैर हाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै अबको ७ दिनभित्र (बाटोको म्याद बाहेक) आफू गैर हाजिर रहनुको कारण खोली जवाफसहित उपस्थित हुन भनेको छ ।

उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्