काठमाडौं । मङ्सिर ७ मा हुने भनिएको नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको विरोध प्रदर्शन माइतीघर र नयाँबानेश्वर क्षेत्रमा गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै समूहलाई माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक सिडिओ रवीन्द्रप्रसाद आचार्यले कुनै पनि समूहलाई मङ्सिर ७ गते माइतीघर र नयाँबानेश्वर क्षेत्रमा कार्यक्रम गर्न नदिइने निर्णय भएको जानकारी दिए । उनले दुवै समूहलाई बोलाएर माइतीघर र नयाँबानेश्वरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको बताएका छन् । ‘हामीले दुवै पक्षसँग संवाद गरेका छौँ । उहाँहरूलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने जानकारी गराइसकेका छौँ,’ उनले सुनाए ।
युवा संघ र दुर्गा प्रसाईँले मङ्सिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन् । दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको हो । सहायक सिडिओ आचार्यले दुवै समूहका लागि विरोध प्रदर्शन गर्ने उपयुक्त स्थान तोकिने र प्रशासनले तोकिएको स्थानमा मात्रै विरोध प्रदर्शन गर्नुपर्ने बताए ।
‘प्रशासनले तोकेको ठाउँमा विरोध प्रदर्शन गरे मात्र राज्यले पनि सुरक्षाको प्रत्याभूति दिन सक्छ । सुरक्षा खतरा हुने गरी कुनै पनि कार्यक्रम आयोजना गर्न दिँदैनौँ,’ उनले भने । दुई समूहले फरक–फरक माग राख्दै एकै ठाउँमा प्रदर्शनको तयारी गरेपछि आइतबार पनि गृह मन्त्रालयका अधिकारीहरूले काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए ।
प्रशासनिक निकायहरूले एउटै स्थानमा कार्यक्रम गर्ने बताएका ‘परस्पर विरोधी देखिएका’ दुई समूहबिच सम्भावित झडप रोक्न आवश्यक जस्तोसुकै कदम चालिने बताएका छन् । ‘दुवै पक्षलाई एउटै ठाउँमा प्रदर्शन गर्न दिने कुरा सम्भव हुँदैन । दुवै पक्षले कार्यक्रम स्थल एउटै तोकेकाले अहिलेबाटै विशेष सतर्कता अपनाइएको छ । सम्बन्धित पक्षसँग पनि छलफल गरेर यसलाई सहजीकरण गर्ने प्रयास हुन्छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
व्यवसायी प्रसाईँले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन् । उनी र नेकपा एमालेका नेता महेश बस्नेतबिच पछिल्लो समय आरोप–प्रत्यारोप चल्दै आएको छ । यसअघि नेकपा एमालेको केन्द्रीय सदस्यबाट निष्कासनमा परेका प्रसाईँले अहिले एमाले नेतृत्वको आलोचना गरिरहेका छन् ।