सामूहिक बलात्कारको अभियोगमा कराँतेका दुई प्रशिक्षकलाई जनही ८ वर्ष कैद सजायको फैसला


मोरङ । जिल्ला अदालत मोरङले सामूहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षकलाई जनही ८ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरू विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई तीन लाख जरिवानासहित जनही आठ वर्ष कैद सजाय हुने फैसला बुधवार गरेको हो ।

जबरजस्ती करणीतर्फ जनही सात वर्ष र सामूहिक करणीतर्फ थप एक वर्ष गरेर आठ वर्ष कैद सजायको फैसला भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का स्थायी प्रशिक्षक थिए । जबरजस्ती करणी मुद्दा चलाइएका दुवैलाई अदालतले एक साताअघि दोषी ठहर गरेको थियो ।

यसअघि नै कसुरदार ठहर भएका दुवै जनाको सजाय निर्धारण भने बुधवार भएको सुवेदीले बताए । फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसुर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ ।

आफूलाई विराटनगरकै एउटा होटेलमा लगेर २०७९ जेठ अन्तिम साता सामूहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरू विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

प्रहरीको अनुसन्धानबाट छात्रालाई नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको यकिन भएको थियो । सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडित छात्राको भनाइ छ । पछि साथीलाई समेत बोलाउँदै दुवै जनाले सामूहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा खुलाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्