भूकम्पमा परी ज्यान गुमाएकी नलगाड नगर उपप्रमुख सरिता सिंहसहित ५५ जनाको दाहसंस्कार


काठमाडौँ । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित ५५ जनाको दाहसंस्कार गरिएको छ । उपप्रमुख सिंहको निधन सदरमुकाम खलंगा भएपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई नलगाड ल्याइएको थियो ।

जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिन अर्पण गरिएको छ । श्रद्धाञ्जली दिन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का पनि त्रिवेणी नदीमा पुगेका थिए । उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनः स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकै दिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत वितरण सुरु गरिने जानकारी दिए । ‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ, थप केही आउने क्रम जारी छ’, उनले भने, ‘जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौँ ।’

उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुनर्निर्माणको काममा सुरु हुने बताए । उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । गत शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपमेयर सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।

नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठुलो क्षति पुगेको बताए । ‘पालिकाको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति गुमाउँदा ठुलो पीडा भएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्