सर्वोच्च अदालतद्वारा रिगलको आममाफी बदर : नेपालगञ्जबाट प्रहरीले गरे पक्राउ


काठमाडौं । सर्वोच्च अदालतले आममाफी दिने निर्णय बदर गरे लगतै योगराज ढकाल ‘रिगल’लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए । उनलाई दाङस्थित जिल्ला कारागारबाट छाडिएको थियो । अब उनलाई दाङकै कारागारमा लगिने कडायतले बताए ।

उनलाई कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै पुनः कारागार पठाउन सर्वोच्चले परमादेशसमेत जारी गरेको छ । यो आदेशसँगै रिगललाई पुनः बाँकी कैद भुक्तानका लागि कारागार पठाइने छ । जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुरले जन्मकैदको फैसला सुनाएकाले उनी २० वर्ष जेल बस्नुपर्ने हुन्छ ।

तर ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी हुँदै संविधान दिवसको अवसरमा उनलाई रिहा गरिएको थियो । त्यस विरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले अदालतमा रिट हालेकी थिइन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते रिगलसहितका कैदीलाई आममाफी दिने निर्णय गरेका थिए ।

आफ्ना पति चेतन मानन्धरका हत्यारा रिगललाई सरकारले आममाफी दिएर छाडेपछि भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनको रिटमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले राष्ट्रपतिबाट भएको निर्णय बदर गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्