राष्ट्रपतिबाट आममाफी पाएका रामचन्द्र थापा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा पक्राउ


चितवन । डाँका मुद्दामा ९ वर्षको कैद भुक्तान पुरा नहुँदै गत जेठ १५ गते राष्ट्रपतिबाट आममाफी पाएका एक व्यक्ति चितवनमा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा पक्राउ परेका छन् । मकवानपुरको हेटौँडा महानगरपालिका २ घर भएका ५५ वर्षका रामचन्द्र थापालाई चितवन प्रहरीले सोमबार पक्राउ गरेको हो ।

थापाले भरतपुर महानगरपालिका–१ का सोमराज सुवेदीलाई फोन गरी गत बुधवार २५ लाख नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार थापाले पटक पटक फोन गरी पैसा नदिए विद्यालय गएको समयमा छोराको हत्या गर्ने धम्की दिएपछि चितवन प्रहरीमा सुवेदीले जाहेरी दिएका थिए । उनले प्रयोग गरेको एनसेल नम्बरको टेलिफोन प्रयोग गरी चितवन प्रहरीले फिरौती रकम दिने बहानामा प्रहरी कार्यालयकै एक सय मिटरको दूरीमा रहेको भरतपुर अस्पताल गेटबाट पक्राउ गरेको प्रवक्ता डिएसपी पण्डितले जानकारी दिए ।

मकवानपुर घर भए पनि चितवनकै भरतपुर महानगरपालिका ९ मा थापाका परिवार बस्दै आएका थिए । सुवेदीले नारायणगढको पुल्चोकमा सञ्चालन गर्दै आएका धन्वन्तरी मेडिकलमा आरोपी थापाको श्रीमती र छोराछोरी नियमित सो उपचार गराउन जाने गर्थे । सुवेदीका अनुसार थापाको परिवार १७ वर्षदेखि उनको मेडिकलका नियमित चेकजाँच गराउन जाने गर्थे । हिन्दी भाषामा टेलिफोन गरी फिरौती रकम माग्ने गरेकोले थापा नै धम्की दिने व्यक्ति होलान् भन्ने आफूले सोच्दै नसोचेको सुवेदी बताउँछन् ।

थापा २०६६ सालदेखि नै विभिन्न अपराधमा संलग्न भएको खुलेको छ । यसअघि ४ पटकसम्म विभिन्न कसुरमा संलग्न भएको पाइएको हो । प्रहरीका अनुसार पछिल्लो पटक चितवन कारागारमा डाँका मुद्दामा ९ वर्षको जेल सजाय काट्दै थिए । कैद भुक्तान गरेको ४ वर्ष ६ महिना ३ दिन भएपछि गत जेठ १५ गते गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर कैद मुक्त भएका हुन् ।

सबैभन्दा पहिले २०६६ साल जेठ २ गते चितवन प्रहरीले चोरी सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पहिलो अभियोगमा तत्कालै रिहा भएका उनी दोस्रो पटक डाँका कसुरमा पक्राउ परेका थिए । दोस्रो पटक २०६६ सालकै असार ३ गते फेरि अवैध हतियार देखाइ डाँका सम्बन्धी कसुर गरेको आरोपमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसपछि तेस्रो पटक २०७३ साल वैशाख २२ गते प्रहरी वृत्त सात दोबाटो ललितपुरबाट लागू औषध सम्बन्धी कसुरमा ललितपुर अदालतमा मुद्दा दर्ता भएको पाइएको डिएसपी पण्डितले जानकारी दिए । पछिल्लो पटक भने चितवन प्रहरीबाट नै २०७५ साल मङ्सिर १३ गते जिल्ला अदालत चितवनबाट डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । अदालतले ९ वर्ष कैद सजाय फैसला गरेको थियो । उनी चितवन कारागारमा नै कैद भुक्तान गरिरहेका थिए । भने १५ गते आममाफी पाएपछि कैदबाट रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्