बेलबारी । बेलबारी उद्योग वाणिज्य संघले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक) का अनुसार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कार्तिक १५ गते बुधवार हुँदै छ ।
सम्पन्न भएको नेपालीहरूको वडा दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा कार्यक्रमको आयोजना गरेको अध्यक्ष श्रेष्ठले जनाएका छन् । श्रेष्ठले बेलबारी उद्योग वाणिज्य संघसँग जोडिएका बेलबारीका सम्पूर्ण व्यवसायीहरूलाई निमन्त्रण गरेका छन् ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा व्यवसायीहरू बिचको सम्बन्ध सुमधुर हुने साथै देशको वर्तमान अवस्थामा व्यवसायीहरूले आर्थिक मन्दीमा भोग्नु परिरहेको समस्याबारे छलफल र समस्याको पहिचान गरी समाधानको लागि परामर्श लिने दिने उद्देश्य रहेको संघका वरिष्ठ उपाध्यक्ष सन्दीप राई बताउँछन् । संघका सचिव तथा कार्यक्रमका संयोजक टिकाराज श्रेष्ठ (रुपेश) का अनुसार प्रमुख अतिथिमा कोशी प्रदेश सांसद माननीय मान ब. लिम्बु, विशिष्ट अतिथिहरूमा बेलबारी नगरपालिकाकी नगर उपप्रमुख नितु थापा कोइराला, कोशी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउत, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, अतिथिहरू सबै ११ वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहने छ ।
पहिलो चरणको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नसँगै एक साता घरदैलो कार्यक्रम सञ्चालन गर्नुको साथै सबै वडा–वडामा शुभकामना आदानप्रदानलाई निरन्तरता दिने सचिव श्रेष्ठले जनाएका छन् ।