राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बिच भेटवार्ता


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर भई दिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन आग्रह गरे ।

नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग आइतबार शीतल निवासमा गरेको शिष्टाचार भेटमा उनले सो आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

‘जलवायु परिवर्तनको कारण हामी होइनौँ, अरूले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण बिगार्नेहरूलाई दायित्व पूरा गर्न झकझक्याउनु पर्दछ’, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै पोखरेलले भने, ‘हामीले त व्यहोर्यौ व्यहोर्यौं अब सारा विश्व र मानजजातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरौँ। त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ ।’ उनले सगरमाथा अन्नपूर्ण आधार शिविर जस्ता ठाउँहरूको भ्रमण स्वयम महासचिवले गर्ने भएकाले सेतो हिमाल कसरी कालो हुँदै छ, अतिवृष्टि र अनावृष्टि के कस्तो प्रभाव पर्यो भन्ने कुरा महसुस गर्न पाउनु हुनेछ भन्ने विश्वास पनि व्यक्ति गरेका थिए ।

राष्ट्रपति पौडेलले शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पुरा हुने बताएका थिए ।

उनले अहिलेको जटिल विश्व राजनीतिक अवस्थामा राष्ट्रसंघको भूमिका अझ बढेको बताउँदै नेपाल राष्ट्रसंघीय शान्ति मिसनको दोस्रो ठुलो योगदानकर्ता मुलुक भएको स्मरण गराएका थिए । पौडेलले शान्ति सेनामा खटिएका नेपाली सेनाको नेतृत्व तहको जिम्मेवारीका लागि आग्रह गरेका थिए । सो अवसरमा महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा नहुँदै पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै ‘कोप’का सन्दर्भलाई लिएर जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिन आफ्नो नेपाल भ्रमण प्राथमिकतामा परेको बताएका थिए ।

आफ्नो नेपाल भ्रमण तीन एजेण्डामा केन्द्रित रहेको बताउँदै सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकोले यहाँ आएको उनले बताएका थिए ।

उनले राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा गरेको स्मरण गराउँदै उहाँकै कार्यकालमा यसको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरे । सो भेटमा परराष्ट्र मन्त्री एनपी साउद, राष्ट्रपति कार्यालयका सल्लाहकारहरू, पदाधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्